धरान : सुनसरीको नमुना विद्यालय, पब्लिक हाईस्कूल धरान १२ को भौतिक विकास निर्माण सम्बन्धी गुरुयोजना निर्माण हुँदै छ ।

नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका २०७४ अनुरूप शिक्षा तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार यो विद्यालय नमुना विद्यालयको रूपमा छनौट भएको हो । विद्यालयको पूर्वाधार विकास निर्माण मन्त्रालयले प्राविधिक खटाई विद्यालयको भौतिक विकास निर्माण सम्बन्धी गुरुयोजना र सुविधा सम्पन्न भवनको डीपीआर तयार गर्न प्राविधिक पक्षमा सहयोग गर्न लागेको हो ।

पब्लिक हाईस्कूल २००३ सालमा स्थापना भएको धरानको पहिलो सामुदायिक विद्यालय हो । यस विद्यालयलाई एक वर्ष अघि नै नमुना विद्यालयको रूपमा विकास गर्न छनौट गरिएको थियो । सरकारले नमुना विद्यालयका लागि ५ वर्ष सम्म प्रत्येक वर्ष आर्थिक सहयोग उपलब्ध गराउने छ ।

सरकारले ढिलो भए पनि काम सुरु हुन लागेकोमा विद्यालयका प्रधानाध्यापक ईन्द्रमोहन झाले खुसी व्यक्त गरेका छन् । यस अघि छनौट भएका विद्यालयहरूलाई नमुना विद्यालय बनाउन उपलब्ध भएको अनुदान रकम भौतिक, शैक्षिक एवं व्यवस्थापनमा गरिने आफूलाई जानकारी भएको प्रधानाध्यापक झाले बताए ।

मङ्गलवार विद्यालय व्यवस्थापन समितिको बैठकमा विद्यालयको आवश्यकता अनुरूपको योजना निर्माण गर्ने सम्बन्धमा गोष्ठी भएको छ । आधुनिक प्रविधिको उपयोग गर्न सकिने किसिमले भौतिक पूर्वाधार निर्माण गर्ने गरीको योजना निर्माण गर्ने योजना बनाइने व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्कीले बताए ।
विद्यालयमा कक्षा कोठाको अभाव भएकाले सुविधा सम्पन्न कक्षाकोठा सहितको नयाँ विद्यालय भवन निर्माण गर्ने बारेमा विद्यालयमा छलफल भएको छ ।

भेलामा धरान उपमहानगरपालिका, वार्ड नं. १२ का वडाध्यक्ष टङ्क बहादुर राई, वडा सदस्य ब्रम्हज्ञ भट्टराई, पब्लिक हाईस्कूल एल्मोनाई २०३१ का सचिव वीरेन्द्र सिंह थापा, सल्लाहकार मोहन श्रेष्ठ शिक्षक प्रतिनिधि र सरकारबाट निरुपित गरिएको सितारा कन्सल्टेन्सी ललितपुरका प्रतिनिधिहरू विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Public-School-1