धरान अमेरिकामा रहेको नेपालीहरूको सहयोगमा धरानमा कोरोना तथा बाढी पीडित र अति विपन्न ४१ परिवारलाई राहत वितरण गरिएको छ ।

सामाजिक अभियन्ता छिरिङ राप्के लामा (न्यूयोर्क) र विजय बस्नेत (टेक्सस) तथा घ्यालसुम्दो सेवा संस्था, न्यूयोर्क, अमेरिकाको सहयोग र ग्रामीण क्लब हाउस, इटहरी सुनसरीको आयोजनामा धरानका कोरोना तथा बाढी पीडित र अति विपन्न ४१ परिवारलाई खाद्यान्न राहत वितरण गरिएको हो ।

धरानका ८, ११, १७ र १९ का कोरोना पीडित, बाढी पीडित र अति विपन्नहरूलाई राहत वितरण गरिएको ग्रामीण क्लब हाउस, इटहरीका महासचिव धर्मप्रसाद सुवेदीले बताए । नेपाली काँग्रेसका सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङको प्रमुख आतिथ्यमा राहत वितरण सम्पन्न भएको थियो । प्रमुख अतिथि तामाङले सहयोग गर्नुहुने सामाजिक अभियन्ताद्धोय छिरिङ राप्के लामा, विजय बस्नेत र न्यूयोर्क अमेरिकास्थित ध्याल्सुम्दो सेवा संस्था तथा राहत व्यवस्थापन गर्नुहुने हाल अमेरिका रहेका ग्रामीण क्लब हाउस इटहरी, सुनसरीका अध्यक्ष मुकुन्द सुवेदीलाई विशेष धन्यवाद दिएका छन् ।

राहत वितरण कार्यक्रममा नेपाली काँग्रेसका धरान नगर सहसचिव पञ्चकला राई, ११ नं. वडा सभापति लोकेन्द्र फागो, १७ नं. वडा सभापति पुष्पा राई, ८ नं. कोषाध्यक्ष विष्णु मोक्तान, क्षेत्रीय प्रतिनिधिहरू राम तामाङ, तिलक सुनुवार, युवा नेता रोशु रेग्मी, युवा नेता गोपाल कार्की, तरुण दलका नेता नरसिंह राई, जी.पी. फाउन्डेसन सुनसरीका सदस्य राजु साह, टोल विकास समितिका अध्यक्ष सूर्य तामाङ लगायतको उपस्थिति रहेको थियो ।