धरान : सुनसरी सदरमुकाम इनरुवामा जारी लकडाउन केही खुकुलो गरिएको भए पनि आइतबार सम्म नगरपालिका र वडा कार्यालयहरूबाट प्रवाह हुने अति आवश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द रहने भएको छ ।

आज बिहान इनरुवा नगरपालिकामा बसेको बैठकले अर्को सूचना नभए सम्म इनरुवा बजारका पसल, होटल तथा अन्य सबै प्रकारका व्यवसायहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पुरा गरी बिहान १० बजे देखि दिउसो ४ बजे सम्म मात्र खोल्ने र शनिवारको दिन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले बताए ।

यसै गरी इनरुवा नगरपालिका र वडा कार्यालयहरूबाट प्रवाह हुने अति आवश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरू आगामी आइतबार सम्म बन्द गर्ने निर्णय पनि भएको छ ।

इनरुवा नगरपालिका क्षेत्र भित्र लाग्ने साप्ताहिक हाट बजार बन्द गर्ने र इनरुवा नगरपालिका वडा नं. ४ मा रहेको रमजानकी गुठीमा लाग्ने दैनिक तरकारी बजारमा थोक (होलसेल) तरकारी मात्र विक्री वितरण गर्ने र खुद्रा तरकारी बिक्री वितरण को लागि बिहीबारे हाटमा व्यवस्थापन गर्ने निर्णय भएको छ ।

यसै गरी इनरुवा बाहिरका सिटी सफारी र अटो रिक्साहरू इनरुवा प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ ।
अर्को निर्णय नहुन्जेल सम्मलाई इनरुवामा तोकिएको समय बाहेकमा कडाइ गरिने बताइएको छ ।

Inaruwa-Nirnaya 1