धरान : पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा ९ जना सहित आज देशैभर २ सय १० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका २ सय १० जनासहित देशैभर सङ्क्रमितको सङ्ख्या १९ हजार २ सय ७३ पुगेको जानकारी दिए । सङ्क्रमितमध्ये १४ हजार २१ जना उपचारपछि घर फर्किएका छन् भने ४९ जनाको ज्यान गएको छ ।

यसैबिच यता प्रदेश नं. १ मा आज ९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिएका मध्ये मोरङमा ८ र सुनसरीमा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ३ जना पुरुष, १ जना महिलामा सङ्क्रमण देखिएको छ भने मिक्लाजुङमा २ जना पुरुष, सुनबर्षीमा १ जना पुरुष, रंगेलीमा १ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, सुनसरीको धरानमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ९ सय ७५ पुगेको छ ।