धरान : इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतमको कोरोना नभएको रिपोर्ट आएको छ ।

उपमेयर गौतमका सवारी चालकमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि उपमेयरको पनि स्वाब सङ्कलन गरिएको थियो । उनको पिसिआर परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएको उनी आफैले फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् । धेरैले आफूलाई कोरोना संक्रमित भयो भनेर भनेको भन्दै उनले फेसबुकमा लेखेकी छिन् “जे आउँछ म आफै सार्वजनिक गर्छु भनेकी थिए, मेरो लगायत गएको १९ गते मैले स्वाब दिएको दिन स्वाब टेस्ट मा पठाइएका प्राय सबै को रिपोर्ट नेगेटिभ आएको छ । ढुक्क हुनुस् ! सचेत रहनुस् !! गलत हल्ला का पछि नलाग्नुस् !!”

इटहरीमा थप २ जनामा कोरोना पुष्टि
इटहरी उपमहानगरपालिकाको दमकलमा काम गर्ने एक जना कर्मचारी र बैकमा काम गर्ने एक जना युवामा कोरोना पुष्टि भएको छ ।

इटहरी उपमहानगरपालिकाका एक जना इन्जिनियरमा कोरोना देखिएपछि उपमहानगरपालिकाका कर्मचारीहरूमा कोरोना परीक्षण गर्दा दमकलमा काम गर्ने एक जनामा आज फेरी कोरोना सङ्क्रमण पुष्टि भएको इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतमले बताइन् । इटहरी उपमहानगरपालिकामा दमकलले कोरोना भित्र्याएको हुन सक्ने अनुमान गरिएको छ । सुनसरीका दक्षिणी बेल्ट भारतीय सीमा क्षेत्रमा आगलागी नियन्त्रणका लागि गएकोले त्यताबाट दमकलका कर्मचारीमा कोरोना सङ्क्रमण भएको हुन सक्ने उपमेयर गौतमले बताइन् ।

यसै गरी आज नै इटहरीमा एक जना बैकमा काम गर्ने युवामा पनि कोरोना पुष्टि भएको छ । जनकपुरमा बैकमा काम गर्ने इटहरी ५ का एक २७ वर्षीय युवामा पनि कोरोना पुष्टि भएको इटहरी अस्पतालका प्रमुख रामकुमार धमलाले जानकारी दिएका छन् ।

इटहरी उपमहानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ भने १५ गते यता मात्रै इटहरी उपमहानगरपालिकामा ९ जनामा समुदाय स्तरमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख धमलाले जानकारी दिएका छन् । इटहरी उपमहानगरपालिकामा ३ जना कोरोना संक्रमित अझै होम आइसोलेसनमै राखिएको पनि प्रमुख धमलाले जानकारी दिएका छन् । कोभिड अस्पतालमा बेड अभावका कारण यस्तो गर्नुपरेको उनले बताए ।