पथरी  : पशुमा देखिएको लम्पी स्किन रोगका कारण पूर्वी मोरङका किसान पीडित भएका छन् । यस रोगले गाईलाई बढी प्रभावित बनाएको किसानहरूले बताएका छन् ।

लम्पी स्किन रोग गाईहरू बढी देखिएपछि दूधको उत्पादनमा पनि कमी आएको छ । यो रोगलाई समयमा नियन्त्रण नगरे गाई पालन व्यवसायमै ठुलो नोक्सानी हुने पशु चिकित्सकले बताएका छन् ।

असारबाट नै मोरङका गाईमा लम्पी स्किनको लक्षण देखिएको थियो । असारको अन्तिम सातातिर मोरङमा केही गाईमा लम्पी स्किन रोगसँग मिल्दो लक्षणहरू देखा परेको र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, विराटनगरमा सो रोगको परीक्षण गरिएको थियो । परीक्षण पश्चात् लम्पी स्किन भएको प्रमाणित भएको थियो ।

प्रयोगशालाबाट खटिएको प्राविधिक टोलीले रोगको प्रकोपको अन्वेषण गर्नुका साथै नमुना सङ्कलन गरेको थियो । यो रोगबाट कति पशु प्रभावित भए भन्ने यकिन तथ्याङ्क आइसकेको छैन । पूर्वी मोरङको पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र लेटाङका किसानले पालेका गाईहरूमा लम्पी स्किन रोग देखिएको पशु प्राविधिकहरू बताउँछन् ।

उक्त रोग लागेपछि गाईले दूध दिन छोड्ने वा कम दिने गरेको पशु रोग चिकित्सकहरूको भनाइ छ । लम्पी स्किन रोग देखिएका गाईमा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा साना,ठुला गिर्खा देखिने, गिर्खा घाउ बन्ने र घाउ फुटेर तरल पदार्थ बग्ने गरेका ती गाईमा १०५ डिग्रीभन्दा उच्च ज्वरो आउने, कचेरा र सिँगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने, ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपन हुने, ४५ प्रतिशत गाईभैंसी बिरामी पर्ने र १० प्रतिशतसम्म मृत्युदर हुने हुन्छ । यो विशेष गरी गाईमा र कहिलेकाहीँ भैँसीमा समेत देखिने पक्स भाइरस (विषाणु) समूहको लम्पी स्किन भाइरसले लाग्ने रोग हो ।

Cow-Pathari-2-

यो रोग मुख्यतः लामखुट्टे, टोक्ने झिँगा, किर्ना आदिको टोकाइबाट सर्ने गर्छ । यसबाहेक सङ्क्रमित गाईभैंसीको लसपस र ओसारपसार, सङ्क्रमित र स्वस्थ गाईभैंसीलाई उपचारको क्रममा एउटै सुइँको प्रयोग र प्राकृतिक तथा कृत्रिम गर्भाधानमा सङ्क्रमित साँढेको वीर्यको माध्यमबाट पनि सर्ने गर्छ ।

यो रोग सङ्क्रमित गाईभैंसीबाट जन्मिएका बाच्छाबाच्छी र पाडा पाडीमा समेत सर्ने गर्दछ । लम्पी स्किनको खोप हालसम्म नेपालमा उपलब्ध छैन । यो रोग विगतमा अफ्रिकी महादेशमा मात्रै सीमित थियो । सन् २०१२ पछि यो रोग पूर्व, दक्षिण पूर्वी युरोप, रुस, काजकिस्तानलगायत हुँदै सन् २०१९ मा बङ्गलादेश र चीन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखा परेको थियो ।