धरान : धरानमा आज दोब्बर मूल्यमा बेचबिखन गर्दै गरेको अवस्थामा धरानका विभिन्न ठाउँबाट ५ क्वीन्टल तरकारी नगर प्रहरीले बरामद गरेको छ ।

साउन २२ गते देखि धरानमा गरिएको लकडाउनको फाइदा उठाउँदै दोब्बर मूल्यमा तरकारी बेचबिखन गर्ने गरेको भन्ने जानकारी आएपछि धरान उपमहानगरपालिकाको नगर प्रहरीले आज बिहान गरेको अनुगमनमा सो परिमाणको तरकारी बरामद गरेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।

धरानको सिंहदेवी चौक, भानुचौक, छाताचौक, पुरानो बजार, अन्नपूर्ण चौक, समी चौक, जिरोप्वाईन्ट, टेलिकम अफिस अगाडी, पिण्डेश्वरी चौक, शान्तिपथ र मदन आश्रित मार्गमा गरिएको अनुगमनको क्रममा ठेला, रिक्सा र किराना पसल अगाडी फिँजाएर तरकारी बेचिरहेको अवस्थामा फेला पारिएको थियो ।

समुदाय स्तरमा कोरोना सङ्क्रमण भएको भन्दै गरिएको लकडाउनको पुरै अवज्ञा गरेर टमाटर १ सय ५० देखि १ सय ७० सम्ममा र आलु १ सय ३० देखि १ सय ४० रुपैयाँ सम्ममा किन बेच गरिरहेको पाइएकोले बिक्रीका लागि राखिएको तरकारी जफत गरिएको नगर प्रहरी प्रमुख कोइरालाले बताए ।

गएको साउन २२ गतेबाट कृषि उपज बजार स्थल पनि बन्द रहेको मौका छोपी तरकारी जन्य बस्तुमा कालो बजारी गर्ने समूह सक्रिय रहेकोले नगरप्रहरीले यस्तो अभियान थालेको बताइएको छ । बरामद गरिएको तरकारी जन्य बस्तुमा टमाटर, आलु, प्याज, लसुन, स्याउ, केरा र हरियो तरकारीमा सागसब्जी पनि रहेको बताइएको छ ।

बरामद गरिएको सबै तरकारी धरान ८ स्थित सभागृहमा ल्याइएको बताइएको छ । यसरी लकडाउनको मौका छोपी कालो बजारी गर्नेहरूलाई फेरी पनि यस्तो अवस्थामा फेला पारिए कालो बजारी ऐन अन्तर्गत कडा भन्दा कडा कारबाही गरिने बताइएको छ ।