धरान : नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उप-प्रबन्धक (नवौँ तह) रितेश गुप्ता १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपैयाँको चेकसहित पक्राउ परेका छन् ।

गुप्ता भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरू स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाहरूको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी उक्त चेकहरू लिएर काठमाण्डौंतर्फ गएका थिए ।

गुप्ता काठमाण्डौंतर्फ गएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ बाट गुप्तालाई हिजो पक्राउ गरेको आयोगले जनाएको छ ।

कार्यालय बाट हस्ताक्षर भैसकेका चेकहरू तथा स्वीकृत भैइनसकेका विभिन्न बैकका १२ थान कार्यालयका चेकहरू, चेकहरूसँग सम्बन्धित कागजातहरू कार्यालयकै गाडीमा लिएर गुप्ता काठमाण्डौं गएका थिए ।

काठमाण्डौं जाने क्रममा सिन्धुलीबाट पक्राउ परेका गुप्ताबाट चेकहरू तथा सम्बन्धित कागजातहरू सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि काठमान्डौ लाने तयारी गरिरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारी जानकारी दिएका छन् ।

akhtiyar