धरान : लकडाउनको समयमा वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक बोलाएको भन्दै धरानका मेयर तिलक राईले विरोध गरेका छन् ।

मेयर राईले धरान उपमहानगर भित्र कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिएको बेला सिनेट बैठक बोलाएको भन्दै स्वास्थ्य मन्त्रीलाई पत्र लेख्दै रोक्न माग गरेका छन् ।

समुदाय स्तरमा पनि कोरोना फैलिरहेकोमा धरानमा गराइएको नमुना परीक्षणबाट सोचे भन्दा धेरै सङ्ख्यामा सङ्क्रमण फैलिरहेको बेला सिनेट बैठक रोक्नु पर्ने तर्क राईको छ ।

सङ्क्रमण रोकथाम साथै नियन्त्रणकालागि स्थानीय प्रशासन र उपमहानगरले निषेधाज्ञाकाे जानकारी गराउँदै मेयर राईले साउन ३० मा बोलाइएको सिनेट बैठक रोक्न माग गरेका छन् ।

प्रतिष्ठानको सिनेट सदस्य समेत रहेका उनले कोभिड अस्पताल उद्घाटन भएता पनि हाल सम्म सञ्चालनमा नआएको गुनासो पत्रमा गरेका छन् ।

'प्रकोप नियन्त्रणका लागि धरान उपमहानगरपालिका सँगै प्रतिष्ठान समेत लागी परेको भएता पनि कोरोना
सङ्क्रमणको उपचार तथा व्यवस्थापनमा र सङ्क्रमण न्यूनीकरणमा जनताको विश्वास र अपेक्षा अनुसार
उपलब्धि हासिल हुन सकिरहेको छैन' राईले पत्रमा भनेका छन् 'दिन प्रतिदिन सङ्क्रमितहरूको सङ्ख्या बढ्दै अस्पतालमा आइसोलेसन बेडको समेत अभाव हुँदै गई रहेको छ भने प्रस्तावित कोभिड अस्पताल उद्घाटन भएता पनि हाल सम्म सञ्चालनमा आएको छैन ।'

यस अघिको सिनेटको बैठकमा उपमहानगरपालिकाको तर्फबाट लिखित रूपमा राखिएको ध्यानाकर्षण समेत सम्बोधन नभएको बेला असामान्य स्थितिमा बैठक गर्न नहुने राईको भनाइ छ ।

'यस्तो विषम परिस्थितिमा धेरै मानिसहरूको भिडभाड र आवत जावत गर्न नहुने भन्ने सरकारको निर्देशन विपरीत निर्धारण गरिएको सिनेटको बैठक तत्काललाई स्थगित गर्न आवश्यक निर्देशन हुन अनुरोध गर्दछु ।'

tilak-rai-letter