धरान : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रदेश नं १ संसदीय दलले जनताको अगाडी मुखै देखाउन नसकेर मुख्यमन्त्री लामो समय काठमाडौँ बसेको आरोप लगाएको छ ।

काँग्रेस प्रमुख सचेतक केदार कार्कीद्वारा हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै काँग्रेसले यस्तो आरोप लगाएको हो ।

आफ्ना भ्रष्टाचार र कमजोरी लुकाउन सरकारले कोरोनालाई अवसरको रूपमा प्रयोग गरेको र जनताको उपचार एवम् कोरोना नियन्त्रणमा सरकारको काम लाजमर्दो भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निकै कडा शब्दमा सरकारको आलोचना गरिएको विज्ञप्तिमा कोरोना सङ्क्रमितको उपचारमा सरकारको लाचारी देखिएको तथा परीक्षणको दायरा बढाउन नसकेको उल्लेख गरिएको छ ।

निकै तामझाम तथा हल्लाखल्ला गरेर उद्घाटन गरिएको भनिएका अस्पतालहरू अझै पूर्ण रूपमा सञ्चालनमा नआएको तथा मुख्यमन्त्रीले सामाजिक सञ्जालबाट भ्रम छरेको काँग्रेसले आरोप लगाएको छ ।

“प्रदेश सरकार केवल केन्द्रको मुख ताक्ने, सङ्घीय सरकार जस्तै गैर जिम्मेवार र निकम्मा भएको जनताले महसुस गरेको सजिलै अनुमान गर्न सकिन्छ । फेरि पनी सरकारलाई पिसिआरको दायरा बढाउन र भेन्टिलेटर सहितको अस्पताल तुरून्त व्यवस्था गर्न जोडदार माग गर्दछौँ ” विज्ञप्तिमा भनिएको छ ।

Press-release-cong-2