धरान : नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल सहितका आन्दाेलनकारी र प्रहरीबिच बीपीको प्रवेशद्वारमा झडप भएको छ ।

झडपको क्रममा दुई जना आन्दाेलनकारी सामान्य घाइते भएका छन् । बीपीमा कोभिड-१९ अस्पताल सञ्चालन लगायतको माग गर्दै उपकुलपतीकाे कार्यकक्षमा पुन:तालाबन्दी गर्न गएकाे नेपाली काँग्रेस निकट नेपाल तरुण दल र  विद्यार्थी समूह र प्रहरी बिच प्रतिष्ठान गेटमा झडप भएको हो ।

धराने जनताको सहज हुने गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कोभिड अस्पताल उद्घाटन मात्रै होइन व्यावहारिक रुपमा सञ्चालन गर्नुपर्ने माग गर्दै हिजो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दी गरेको १ घण्टा पछि प्रहरीले ताला तोडेपछि आज फेरी नेपाली काँग्रेसको सो समूह तालाबन्दी गर्न उपकुलपतिको कार्यकक्ष तर्फ जाँदै गर्दा प्रहरीसँग झडप भएको हो ।

प्रहरी अवरोधको कारण ताला लगाउन नपाए पनि प्रतिष्ठानको प्रवेशद्वार नजिकै उक्त समुहले कोणसभा  गरेको छ । प्रतिष्ठान भित्र थुप्रै अनियमितता र भ्रष्टाचार भएको भन्दै प्रहरीले रोके पनि बीपीको बेतिथि विरुद्ध आन्दोलन जारी रहने नेपाली काँग्रेस धरान उपमहानगर समितिका सचिव श्याम पोख्रेलले बताए । 

बिपीमा वैशाख ११ गते देखि सञ्चालन हुने भन्दै तामझामका साथ उद्घाटन भएको कोभिड-१९ अस्पताल अहिले सम्म सञ्चालन नहुनु र धरानमै बीपी जस्तो ठुलो स्वास्थ्य संस्था रहेर पनि धरानका कोरोना संक्रमित होम आइसोलेसनमा बस्नुपर्ने दु:खद परिस्थिति रहेको भन्दै तरुण दल र नेविसंघ आन्दोलनमा उत्रिएका हुन् ।

बीपी भित्र अत्यन्तै चरम बेतिथि रहेकोले गर्दा पनि यो आन्दोलन गर्नुपरेको बताउँदै सचिव श्याम पोख्रेलले बताए ।

माग गरिएका विषयहरूमा गैर जिम्मेवारी, ढिलासुस्ती र मनोमानी गरिए आन्दोलन कडा हुने र आन्दोलन जारी रहने अन्दाेलनकारीले चेतावनी दीएका छन ।

NC-2 NC-3