झापा : झापाको गौरीगञ्जको उद्योग वाणिज्य सङ्घले गाउँपालिकाका सर्वसाधारणको सशुल्क कोरोना परीक्षण गर्ने भएको छ ।

सङ्घले इच्छुक जो कोहीले परीक्षण गर्न चाहेमा गराइदिने जनाएको छ । सङ्घका अध्यक्ष मखन महतोका अनुसार कोरोना परीक्षणका लागि सर्वसाधारणले अढाई सय रुपैयाँ र व्यापारीले पाँच सय रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

सङ्घले गाउँपालिका भित्रका इच्छुक सर्वसाधारण तथा व्यापारीलाई स्वाब परीक्षणका लागि बिहीबार बिहान वाणिज्य सङ्घको कार्यालयमा आउन सूचित गरेको छ । यो परीक्षणका लागि गाउँपालिकाको समेत सहकार्य रहेको महतोले जानकारी दिएका छन् ।