धरान :गोंगबु स्थित एक होटलमा बस्दै आएका रोल्पा रुन्टीगढी गाउँपालिका-७ घर भएका ४५ वर्षीय कृष्ण बहादुर बोहोराको हत्या गरेको अभियोगमा टोखा नगरपालिका-१० नवज्योति मार्ग बस्ने चितवन कालिका नगरपालिका-७ घर भएकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) लाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी परिसर टेकुमा मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

टोखा नगरपालिका-१० गोंगबु नवज्योती मार्गमा आइतबार बिहान सुटकेशभित्र टाउको बिनाको शव फेला परेको थियो । तालिम प्राप्त कुकुरलाई तत्कालै परिचालन गरी खोजी गर्ने क्रममा सोही ठाउँस्थित ३ सय मिटर टाढा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा फेला परेको थियो ।

उक्त घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उक्त घटनामा संलग्न कल्पनालाई चितवन कालिका नगरपालिका-९ शक्तिखोर स्थित माइतिघरबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख दिपक थापाले जानकारी दिए ।

घटनास्थलबाट धारिलो हतियार, ह्रयामर, पञ्जा, म्याट्रेसको टुक्रा, सल, सुटकेशको ह्याण्डल, डोरी, मृतकका कपडाहरु, स्लिपीङ ट्याब्लेटको खोल र मोबाइल सेटहरु प्रहरीले बरामद गरेको छ । अनुसन्धानको क्रममा मृतक बोहोरा विगत ८ महिनादेखि उक्त होटलमा बस्दै आएको, मृतक र अभियुक्त कल्पनाबीच करिब ४ वर्षदेखि फेसबुक मार्फत चिनचान तथा सम्पर्कमा रहेको खुलेको थापाले बताए ।

उनीहरुको बेलाबेलामा कल्पनाको कोठामा भेट हुने गरेको, मृतकले अभियुक्तको फोटो राखेर फेक फेसबुक आइडी खोली चलाउने गरेको, आफू अनुकूल चलाउनको लागि दबाब दिने गरेको, मृतक घटनाको दिन होटेलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटरमा कल्पनाको कोठामा आएको होटलका संचालकले बताए ।

कल्पनाले उनलाई दही, चिउरा, मासु र भोड्का खान दिएकोमा दहीमा ५ वटा निन्द्राको औषधि समेत मिसाई दिएको उक्त खानेकुरा खाएपछि कृष्ण बहादुर लठ्ठ परी सुतेको मौकामा फलामको ह्रयामरले प्रहार गरेकी थिइन । ह्रयामर  प्रहार पछि सलले घाँटी कसेको र मरेको यकीन भएपछि धारिलो हतियारले टाउको र खुट्टा छिनाई झोलामा राखेर उक्त स्थानहरुमा आँफैले फालेको प्रारभिक अन्सन्धानबाट खुलेको छ ।

तत्पश्चात् बिरामी लिएर काठमाडौं आई चितवनतर्फ फर्कन लागेको एम्बुलेन्समा आइतबार बेलुका कल्पना चितवनतर्फ गएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।