झापा : झापाको दमक नगरपालिका वडा नम्बर-६ मा रहेको मेची सहकारी संस्थाले कोरोना महामारीका कारण उत्पन्न असहज परिस्थितिका समयमापनि आर्थिक बर्ष २०७६/०७७ मा पूर्व निर्धारित सबै लक्ष्यहरु पार गर्दै कारोबार बढाउन सफल भएको जनाएको छ ।

संस्थाले गत आर्थिक बर्षमा झण्डै दुई अर्ब रुपैयाँ बराबरको कारोबार गर्न पनि सफल भएको जानकारी गराएको छ । संस्थाको बार्षिक प्रतिवेदन सार्वजनिक गर्ने उद्धेश्यले आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले लक्ष्य भन्दा बढी कारोबार गर्न सफल भएको बताए । सो संस्थाले गत आर्थिक बर्षमा एक अर्ब ९३ करोड, ३९ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार गरेको व्यवस्थापक खोम प्रसाद बगालेले जानकारी दिए ।

सो बर्ष संस्थाले शेयर पुँजीमा ४९.६७ प्रतिशत, निक्षेप तथा वचतमा ३८.६२ प्रतिशत, कर्जा लगानीमा २६.६५ प्रतिशत र कोष तर्फ ३५.६१ प्रतिशतले बृद्धी दर हासिल गरेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै संस्थाले यस बर्षको कोरोना महामारीका कारण विश्वभर आईपरेको विपद्बबाट पाठ सिक्दै आफ्ना सदस्यहरुकालागि विपद बचत योजना खाता सञ्चालनमा ल्याउने पनि जनाइएको छ । सबै किसिमका विपत्तका घडीमा सदस्यहरुलाई आत्मनिर्भर बनाउनु र सहज परिस्थितिमा बचत असहजमा उपभोग गर्ने बानीको विकास गराउन, र जटिल प्रकृतिका रोगहरु लाग्दा उपचारका लागि ऋण लिनु पर्ने बाध्यता हटाउन यस योजनाले महत्वपूर्ण सहयोग पुरयाउने विश्वास संस्थाले लिएको जानकारी दीएकाे छ।

त्यसैगरी कृषि उद्यमकालागि ऋण लिएका सदस्यहरुलाई ऋणको किस्ता ६ महिनामा मात्रै तिरे पुग्ने व्यवस्था यस बर्षदेखि गर्न लागिएको व्यवस्थापक बगालेले बताए ।