धरान : धरान उपमहानगर कार्यपालिकाको बैठकले कृषि बजारस्थलमा रहेको मौज्दात तरकारी दुई दिनमा व्यवस्थापन गर्ने निर्णय गरेपछि बिहिबार र शुक्रबार भित्र मौज्दात तरकारी व्यवस्थापन गरिने भएको छ ।

कार्यपालिकाको बैठकको निर्णय अनुसार कृषि उपज बजारस्थलमा मौज्दात रहेको १ सय ७० टन आलु र १ सय टन प्याज मौज्दात दुई दिन भित्रमा व्यवस्थापन गर्ने कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।

उनका अनुसार कृषि उपज बजारस्थलमा रहेको मौज्दात आलु र प्याज व्यवस्थापनकालागि धरानका सम्बन्धित वडाहरूले समन्वय गरेर मात्रै वडाहरूमा आलु र प्याज बिक्री वितरण गर्न दिइने भएको छ ।

यसरी वडामा पठाइएको आलु र प्याजको मूल्य लकडाउन अघिको मूल्य कायम रहनेछ । खुद्रा मूल्य आलु नयाँ प्रतिकेजी ७० र पुरानो ५२ रुपैयाँ प्रतिकेजी र प्याज प्रतिकेजी ३२ रुपैयाँले बिक्री वितरण हुनेछ ।

तोकिएको मूल्य भन्दा बढीमा बिक्री वितरण गरिएको पाइएमा कालोबजारी ऐन अनुसार कारबाही गरिने बताइएको छ । दुई दिन भित्रमा मौज्दात तरकारी व्यवस्थापन गर्ने भनिएकोमा कृषि उपज बजार स्थलबाट भने खरिद बिक्री नहुने पनि कृषि उपज बजार स्थलले जनाएको छ ।

कृषिबाट वडा-वडामा मौज्दात आलु र प्याज पठाउँछौ उतै उपभोक्ताले खरिद गर्नुपर्ने छ । तरकारी ढुवानीको लागि सम्बन्धित वडालेनै गाडी व्यवस्थापन गर्नुपर्ने र धरान उपमहानगरपालिकाले ३ वटा गाडी व्यवस्थापन गर्ने निर्णय भएको छ ।

कृषि उपज बजारस्थल लकडाउन अवधिभर पुर्णरुपमा बन्द रहने र आयत निर्यात केही पनि नहुने व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।

Baithak