धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना सङ्क्रमितहरूको उपचारमा दायरा बढाएको छ ।

प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गरी कोभिड १९ का बिरामीको सङ्ख्या दिनानुदिन वृद्धि भइरहेको अवस्थामा आज देखि उपचारमा दायरा बढाएर कोभिड १९ अस्पतालमा समेत कोरोना संक्रमित बिरामी राख्न थालिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनका अनुसार कोरोना संक्रमित बिरामीमा लक्षण देखिएकाहरूलाई कोभिड १९ अस्पतालमा भर्ना गर्न थालिएको हो ।

प्रतिष्ठानको इमरजेन्सीमा आएका र कोरोना आशङ्का गरिएका बिरामीहरूलाई आज देखि कोभिड १९ अस्पतालमा राख्न थालिएको छ । प्रतिष्ठानमा पेईङ वार्ड र धर्मशालामा गरी दुईवटा भेन्टिलेटर सहित कोरोना सङ्क्रमितहरूको उपचार हुँदै आएको थियो ।

वैशाख ११ गते देखि सञ्चालन गर्ने भनिएको कोभिड १९ अस्पतालको उद्घाटन गरेर सञ्चालनमा आएको थिएन । आज देखि सो अस्पतालमा बिरामी राख्न थालिएको प्रतिष्ठानकै एक चिकित्सकले बताए । उनका अनुसार १० वटा भेन्टिलेटर सहितको १ सय बेड क्षमताको सो अस्पताल सञ्चालनमा आउनुले दैनिक बढ्दै गएका कोरोना सङ्क्रमितहरूको उपचारमा सहजता आउनेछ ।

प्रतिष्ठान हाता भित्र छुट्टै स्थानमा रहेको सो कोभिड अस्पताल स्वास्थ्य सुरक्षाको हिसाबले पनि निकै सुरक्षित रहेकोले यसलाई पुर्णरुपमा सञ्चालन गर्न सक्यो भने प्रदेश १ का गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितहरूले उपचार पाउन सक्नेछन् । तर प्रतिष्ठानको लापर्वही र गैर जिम्मेवारी पनले भने कहिले काहीँ समस्या निम्तिने गरेको छ ।

१० वटा भेन्टिलेटर सहितको सो अस्पतालमा आइसियु सरहको एचडीयु युनिट पनि रहेको छ । यसले गर्दा कोरोना सङ्क्रमितहरूको उपचारमा थप सहज हुने र राम्रो स्वास्थ्य सेवा पाउने बताइन्छ । तर अझै पनि आन्दोलन र दबाबले गर्दा सञ्चालनमा ल्याइएको अस्पतालले स्वास्थ्य प्रोटोकल नै पुरा नगरी सञ्चालनमा ल्याएको हो कि भन्ने पनि आशङ्का उब्जाएको छ । यसबारेमा बिपीकै चिकित्सकहरूले भने त्यस्तो नभएको दाबी गर्छन् ।

प्रतिष्ठानको कोभिड अस्पताल सञ्चालनमा आएसँगै अव १२ वटा भेन्टिलेटर, २० वटा एचडीयु युनिट सहित २ सय जना बिरामीलाई सेवा प्रवाह गर्न सक्ने बताइन्छ ।

BP-Bigyapti