धरान : धरान उपमहानगरपालिका वडा नं. ९ का एक महिला जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान-१५ ठेगाना लेखिएको २४ वर्षीय कोरोना संक्रमित महिला धरान ९ की महिला जनप्रतिनिधि रहेको ९ नम्बर वडाध्यक्ष रत्नबहादुर कटुवालले बताए ।

उनको हालको बसोबास भने धरान-१६ मा रहेको बताइएको छ । एक जना महिला जनप्रतिनिधिलाई कोरोना पुष्टि भएपछि अव वडामा के गर्ने भन्ने बारेमा सोच्नुपर्ने अवस्था आएको वडाध्यक्ष कटुवालले बताए ।

केही दिन अघि आफू लगायत वडाका अरू सदस्य र कर्मचारीहरूको नगरपालिकामा गरिएको स्वाब सङ्कलनको क्रममा स्वाब दिएको र आफूहरू सबैको रिपोर्ट नेगेटिभ आएको बेलामा फेरी महिला जनप्रतिनिधिमा कोरोना देखिएकोले अर्को समस्या थपिएको वडाध्यक्ष कटुवालले बताए । संक्रमित महिला जनप्रतिनिधिले धरान १५ मा मास टेस्टिङको क्रममा स्वाब दिएकी थिइन् ।

आज थपिएको कोरोना संक्रमित सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ६२ पुगेको छ भने समुदायमा सङ्क्रमितको सङ्ख्या २७ पुगेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।