धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आएकी एक महिलामा कोरोना सङ्क्रमण देखिए पछि उनी बसेको बुद्ध चौकको एक होटल सिल गरिएको छ ।

उदयपुरबाट आन्द्राको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगेकी २३ वर्षीय महिलामा हिजो आन्द्राको अप्रेसन गर्नुपुर्व पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनी बसेको होटल सिल गरिएको धरान १८ का वडाध्यक्ष प्रवीण राईले बताए ।

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बुद्ध चौकमा रहेको एक होटेललाई स्वास्थ्य सुरक्षाको हिसाबले सिल गरिएको र बिरामीलाई बीपीको आइसोलेसनमा भर्नाका लागि पठाइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

बुद्दचौक क्षेत्रको होटेलमा गएको साउन २१ गते देखि संक्रमित महिला बसेको हुनाले होटेल सञ्चालक सहित ८ जनाको आज स्वाब लिने तयारी भएको छ । कोरोना संक्रमित बसेका होटल सहित आसपासका ३ घरमा अहिले सेनिटाइज गर्नुको साथै सिल गरिएको वडाध्यक्ष राईले बताए । सो क्षेत्रमा हिँडडुलमा कडाइ गर्ने पनि बताइएको छ ।