धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको धरानको छाताचोकस्थित पुरानो अस्पतालको जग्गा व्यापारीलाई जिम्मा लगाउने प्रपञ्च भएको भन्दै नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दल र नेवि संघले विरोध जनाएका छन् ।

नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दल र नेवि संघले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै स्थानीय निकाय र सरोकारवालाहरूसँग कुनै समन्वय नगरी उपकुलपति र स्वास्थ्य मन्त्रीको स्वार्थमा भएको यो प्रपञ्च तत्काल रोक्न माग गरेका छन् । यो कार्य नरोकिए कडा कदम चाल्ने पनि दुवै सङ्गठनले चेतावनी दिएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको अचल सम्पत्ति जग्गा निजी क्षेत्रसँग समझदारी गरेर उपयोग गर्न दिने गरी सिनेटमा प्रस्ताव लान सैद्धान्तिक सहमति गरेपछि काँग्रेस निकट २ सङ्गठनले विरोध सुरु गरेका हुन् ।

मोरङको सुन्दर हरैचाको वीपीको जग्गामा मदन भण्डारी ट्रमा सेन्टर बनाउने प्रस्ताव कार्यकारिणी समितिबाट पास गरिसकेको भन्ने जानकारी पाएकोले यो कार्य तत्काल रोक्न पनि माग गरेको छ । महान् नेता वीपी कोइरालाको नाममा स्थापना भएको वीपी प्रतिष्ठानको नामको जग्गालाई अर्को नेताको नाम जोडेर असहज परिस्थिति सिर्जना गर्न खोजिएको प्रति कडा निन्दा दुई सङ्गठनले पत्रकार सम्मेलनमा गरेका छन् ।

तरुण दलको नगर अध्यक्ष हिमाल श्रेष्ठ, क्षेत्र नं १ का अध्यक्ष सम्पूर्ण ताम्राकार र महेन्द्र क्याम्पस स्ववियु सचिव दोर्जी शेर्पाले संयुक्त विज्ञप्ति जारी गरी १५ बुँदे माग अघि सारेका छन् ।

Press-Bigyapti