धरान : कोसी अस्पताल विराटनगरमा थप एक जना कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ ।

हिजो सिराहाको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । गम्भीर अवस्थामा कोसीमा भर्ना भएका उनलाई हिजो नै कोरोना पोजेटिभ देखिएको थियो । गए राति करिब सवा ८ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

हिजो कोसी अस्पताल भर्ना भएका पुरुषमा श्वासप्रश्वास, निमोनियाको समस्या थियो । उनको शरीरमा रगतको कमी पनि देखिएको डा. दासले बताए । उनको हिजो दिउँसो स्वाब सङ्कलन गरिएको थियो ।  कोरोना पोजेटिभ देखिए पछि ती पुरुषलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउन खोजिएको थियो । तर धरानले बेड खाली नभएको बताएपछि आइसोलेसनमै राखिएको थियो ।

हिजो नै कोसी अस्पतालको आइसोलेसनमा विराटनगर महानगरपालिका – १५ का ३३ वर्षीय एक युवकको पनि मृत्यु भएको थियो । कोरोनाको लक्षण देखिएका विराटनगरका युवकको रिपोर्ट नेगेटिभ आएको डाक्टर दासले जानकारी दिए ।  यो सँगै मोरङमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । नौ मध्ये ६ जनाको कोसी अस्पतालमै मृत्यु भएको हो ।