धरान : कोसी अस्पताल विराटनगरमा अर्का एक ३० वर्षीय युवकको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको आज बिहान रिपोर्ट आएको हो । कोसी अस्पतालमा हिजो नै सिराहाको विष्णुपुर गाउँपालिका–१ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।

विराटनगरका युवकलाई हिजो बिहान कोसी अस्पताल भर्ना गरिएको थियो । उनको बेलुका आइसोलेसनमा मृत्यु भएको र कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई आफन्तले हिजो बिहान कोसी अस्पताल ल्याएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरेको थियो । तर रिपोर्ट नआउँदै हिजो दिउँसो ४ बजे उनको मृत्यु भएको थियो ।

बिहान सङ्कलन गरिएको स्वाबको रिपोर्ट बेलुका नेगेटिभ आयो । तर रिपोर्ट शङ्कास्पद लागेपछि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको बताइएको छ ।  ३० वर्षीय पुरुषको मृत्यु भएसँगै विराटनगरभित्र कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।

यसअघि विराटनगर–९ का दुई जना, ३, ५ र १० नम्बर वडाका एक–एक जनाको मृत्यु भएको थियो । हिजो नै सिराहाका ४० वर्षीय पुरुषको कोसी अस्पतालमा मृत्यु भएको थियो । हिजो मृत्यु भएका दुई जनाको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले अन्त्येष्टि गर्ने छ ।