धरान : सहप्राध्यापक डा.दिलकुमार लिम्बु धरान १४ विजयपुर, हात्तीसार स्थित केन्द्रीय प्रविधि क्याम्पसको प्रमुखमा नियुक्त भएका छन् ।

धरान १९ निवासी डा.लिम्बुलाई त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद् बैठकले हिजो नियुक्ति गरेको हो । क्याम्पस प्रमुखको कार्यकाल ४ वर्षको हुनेछ । डा. लिम्बु वनस्पति शास्त्रका सहप्राध्यापक हुन् । उनी विगत ६ महिनादेखि निमित्त क्याम्पस प्रमुख रहेका थिए । साथै, विगत ६ वर्षसम्म उनले सहायक क्याम्पस प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए ।

डा.लिम्बु हिमालयन रेञ्जलेण्ड कार्बन सिक्विस्ट्रेसनका विज्ञ पनि हुन् । उनले हिमालयन रेन्जमा कार्बनको मात्रा कति छ भन्ने विषयमा विद्यावारिधि गरेका हुन् । उनले पूर्वी पहाडी जिल्ला तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको तिनजुरे, मिल्के र जलजले क्षेत्रमा रहेको कार्बन सन्चितिका बारेमा विद्यावारिधि गरेका हुन् । उनी लगनशील, कर्मठ र निरन्तर अनुसन्धान, प्राध्यापनमा लागिरहने हुन ।

उनी २३ वर्षदेखि सक्रियरुपमा प्राध्यापन तथा अनुसन्धानमा लागिरहेका लगनशील, कर्मठ जुझारु सहप्राध्यापक हुन् । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोबायोलोजी विभाग प्रमुख धिरेन लिम्बुका अनुसार नवनियुक्त क्याम्पस प्रमुख डा.लिम्बुको २५ भन्दा बढी राष्ट्रिय, अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धानमूलक लेखहरू प्रकाशन भइसकेका छन् भने ५ विभिन्न पुस्तक तथा च्याप्टर पनि प्रकाशन भइसकेको छ । क्याम्पस प्रमुखमा नियुक्त भएपछि उनलाई आज प्रगतिशील प्राध्यापक सङ्घ र स्वबियुले बधाई प्रदान गरेका छन् ।