धरान : नेपाली काँग्रेसका भातृ संस्थाहरू तरुण दल र नेपाल विद्यार्थी सङ्घले धरान उपमहानगरका मेयर र इलाका प्रशासन कार्यालय धरानलाई आज ज्ञापन पत्र बुझाएका छन् ।

धरानको छाताचौकमा रहेको पुरानो धरान अस्पतालको जग्गा वीपी प्रतिष्ठानले स्थानीय सरकार र सरोकावारलाहरुसँग कुनै समन्वय नगरी व्यापारीलाई जिम्मा लगाउने चलखेल सुरु गरेको र वृत्ति विकासका लागि राखिएको वीपी प्रतिष्ठानको जग्गामा अर्को जननेताको नाममा ट्रमा सेन्टर बनाउन नमिल्ने भन्दै उक्त कार्य तुरुन्त रोक्न माग गर्दै तरुण दल र नेपाल विद्यार्थी सङ्घले ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै मेयर तिलक राईले दबाब र आन्दोलनले गर्दा तीन महिना अगाडी उद्घाटन भएको कोभिड १९ अस्पताल सञ्चालनमा आएको भन्दै तरुण र नेविसंघलाई धन्यवाद दिए । मेयर राईले भने, ‘मलाई जानकारी आएको छ, सञ्चालनमा आयो भन्ने तर हामीले त्यो कुरालाई अनुगमन गर्न पाएका छैनौँ ।’ मेयर राईले कोभिड १९ अस्पताल सम्पूर्ण सेवा सुविधा सहित सञ्चालन गर्नुपर्ने बताउँदै यस विषयमा स्थानीय सरकारले पनि ध्यानाकर्षण गर्ने विश्वास दिलाए । प्रतिष्ठानका उपकुलपतिले प्रतिष्ठानको व्यवस्थापन तथा सेवा सुविधामा ध्यान दिन नसकेको मेयर राईले बताए । उनले भने, ‘धरान उपमहानगरपालिकाले पनि केही दिन अगाडी पत्राचार गरेको थियो । यो ज्ञापन पत्रले धरान उपमहानगरपालिकालाई थप टेवा पुगेको छ ।’

धरान उपमहानगरपालिकाले धरानबासीको स्वास्थ्य उपचार तथा प्रतिष्ठानको सम्पत्ति जिम्मा लिनुपर्ने मेयर राईले बताए । ‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान क्षेत्र भित्रै रहेको धरानको सम्पत्ति, धरानको गहनाको रूपमा धरान उपमहानगरले लिएको छ’ मेयर राईले भने । मेयर राईका अनुसार वीपी प्रतिष्ठानले सिनेटको बैठकको एजेन्डा धरान उपमहानगरपालिकालाई पठाएको छैन । ‘नगरपालिका भनेको संस्था हो, व्यक्ति हैन ।’ एजेन्डा र विषयवस्तु थाहा नभईकन उपमहानगरपालिका त्यहाँ सहभागी नहुने मेयर राईले बताए । मेयर राईले, ‘सिनेट बैठकको बारेमा तपाईँहरूले उठाएको कुरा ठिक हो ।’ मेयर राईले माग सम्बोधन हुने गरी ज्ञापन पत्र सहित वीपी प्रतिष्ठानलाई पत्राचार गर्ने बताए ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्र बहादुर कार्कीले पनि ज्ञापन पत्र बुझ्दै यहाँहरूको दबाब र आन्दोलनले कोभिड अस्पताल सञ्चालनमा ल्याउन सफल भएको बताए । ‘यहाँहरूले लिएर आउनुभएको ज्ञापन पत्र प्रधानमन्त्रीसँग सम्बन्धित छ’ प्रमुख कार्की भने । प्रमुख कार्कीले ज्ञापन पत्रलाई प्रधानमन्त्री कार्यालय र जिल्ला कार्यालयमा तत्काल पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

दुई सङ्गठनले आज पनि वीपी प्रतिष्ठानको गेट अगाडी आधा घण्टा धर्नामा बसेका थिए ।
तरुण दल धरानका सभापति हिमाल श्रेष्ठले मोरङको सुन्दरहरैचामा वीपी प्रतिष्ठानको वृत्ति विकासका लागि राखिएको जग्गामा मदन भण्डारी ट्रमा सेन्टर बनाउने प्रस्ताव तुरुन्त रोक्न माग गर्दै उपमहानगर र इलाका प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको बताए । वीपी प्रतिष्ठानको वृत्ति विकासका लागि जोडिएको जग्गामा अर्को जननेताको नाममा ट्रमा सेन्टर सञ्चालन गर्न नहुने सभापति श्रेष्ठले दाबी गरे । माग पुरा नभइन्जेल सम्म हाम्रो सङ्गठनले दबाब मूलक आन्दोलनहरू गरिरहने पनि उनले बताए । उनले भने, ‘भोलिको दिनमा यस विषयमा पार्टीले समेत आन्दोलन गर्छ ।’

उपकुलपतिले आफ्नो स्वार्थ पुरा गर्नका लागि वीपीको नाममा जोडिएको विभिन्न ठाउँका जग्गामा व्यापारीहरूलाई व्यापारिक प्रयोजनका लागि हस्तान्तरण गर्न लागेको प्रति पनि दुवै सङ्गठनको घोर आपत्ति रहेको उनले बताए ।

दुवै सङ्गठनले धरानमा प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्नु लगायत चरणबद्ध रूपमा आन्दोलनहरू गर्दै आएका छन् ।

Dharna