धरान : धरानमा अझै पनि ७ जना कोरोना संक्रमित होम आइसोलेसनमै रहेका छन् ।

धरान उपमहानगरपालिकाका कोरोना सङ्क्रमितहरूलाई अस्पतालको आइसोलेसनमा राख्नका लागि बेड अभाव भएकोले केही दिन अघि होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितहरू अहिले भने बेड अभाव भएर होइन आफ्नो स्वइच्छाले सुरक्षित तरिकाले होम आइसोलेसनमा बसेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

अहिले होम आइसोलेसनमा बस्नेहरूमा धरान १३ का २ जना, धरान ८ का १ जना, धरान १० का २ जना, धरान ११ का १ जना र धरान १९ का १ जना गरी ४ महिला र ३ पुरुष रहेका छन् ।

उनीहरूको स्वास्थ्य अवस्थाको बारेमा स्वास्थ्यकर्मी र सम्बन्धित वडाध्यक्षहरूले जानकारी लिइरहने र कुनै समस्या भए अस्पतालमा तुरुन्त लाने गरीको तयारीमा होम आइसोलेसनमा बसेका हुन् । अहिले सम्म होम आइसोलेसनमा बस्ने ७ जनाको अवस्था सामान्य रहेको र कुनै लक्षण नदेखिएको पनि स्वास्थ्य प्रमुख मेहेताले बताए । आज साँझ ७ जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।

धरानमा अहिले सम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७१ पुगेको छ भने ४१ जना विदेशबाट आएकोमा र ३० जना समुदायमा कोरोना देखिएको हो ।

प्रीति भल्भका सबैको रिपोर्ट नेगेटिभ
धरानको कोरोना सङ्क्रमणको हटस्पट भनिएको धरान ८ मा रहेको प्रीति भल्भ फिटिङ्स इन्डस्ट्री प्रा.ली. का सबै कर्मचारीको रिपोर्ट नेगेटिभ आएको छ ।

सोही उद्योगका अडिटर धरान १३ का युवामा कोरोना सङ्क्रमण देखिएसँगै सोही उद्योगमा काम गर्ने अरू कर्मचारीमा पनि कोरोना सङ्क्रमण भएको पाइएपछि सो उद्योग सिल गरिएको थियो । उद्योग सिल गरेर त्यहाँ कार्यरत ४९ जना कर्मचारीको लिइएको स्वाबको रिपोर्ट आज सबैको नेगेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।