धरान : विराटनगर महानगरपालिका-३ की ८७ वर्षीय वृद्धाको कोरोना सँग मिल्दोजुल्दो लक्षणको बिरामीका कारण गएराति मृत्यु भएको छ ।

मृतकका छोरा कोरोना पोजेटिभ देखिएपछि मङ्गलवारदेखि आइसोलेसनमा छन् । उनको स्याहारमा बसेकी बुहारीमा पनि कोरोना पोजेटिभ देखिएको छ । मृतक वृद्धाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि उनका ५६ वर्षीय छोरालाई मङ्गलवारनै विराटनगरको मारवाडी सेवा सदनको आइसोलेसनमा भर्ना भएका छन् । छोरा आइसोलेसनमा उपचाररत रहेकै अवस्थामा आमाको शनिवार राति ९ बजेतिर आफ्नै घरमा मृत्यु भएको हो ।

छोरालाई आइसोलेसनमा भर्ना गरिएपछि ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएकाले बुधवार वृद्धाको पनि पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । मृत्यु पछि कोरोना रिपोर्ट नेगेटिभ आएको छ । वृद्धा महिलाको स्यहायरमा बसेकी बुहारीको रिपोर्ट भने पोजेटिभ आएको विराटनगर-३ का अध्यक्ष विनोदकुमार बस्नेतले बताए ।

८७ वर्षीय खतिवडा थरकी वृद्धा महिलाको शनिवार राति मृत्यु भए पनि सहानुभूति प्रकट गर्न न छिमेकी पुगेका छन् न त अन्य आफन्त नै । विराटनगर-३ का अध्यक्ष बस्नेतका अनुसार वृद्धाको स्याहारमा बसेकी बुहारी र छोरामा कोरोना देखिएका कारण छिमेकीहरू पुगेका छैनन् । ‘छिमेकीहरू जान डराइरहेका छन् । हिजोदेखि घरमै छ शव ।’ उनले भने ‘ के गर्ने भनेर हामी सल्लाह गर्दैछौं ।’

कोरोना पोजेटिभ देखिएका मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ । नेगेटिभ देखिएकाको शव आफन्तलाई जिम्मा लगाइदै आएको छ । तर छिमेकी जान डराएका कारण वृद्धाको अन्त्येष्टीमा समस्या देखिएको छ । मृतकका छोरा प्रदेश-१ को पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृत हुन् । उनी कोरोना संक्रमित भएपछि वृद्धाका छोरा अहिले मारवाडी सेवा सदनको आइसोलेसनमा छन् ।

उनी चालक र कार्यालयका अरू दुई अधिकृत सहित गत साउन १८ गते कृषि र भेटेरिनरीको अनुगमन निरीक्षणका लागि ओखलढुंगा र सोलुखुम्बु गएका थिए । चार जनाको टोली मध्ये चालक सहित दुई जनालाई ज्वरो आएको थियो । विराटनगरमा सोमबार परीक्षणका लागि स्वाब दिएका थिए । मङ्गलवार पोजेटिभ आएपछि उपचारकालागि उनलाई भने आइसोलेसनमा भर्ना गरिएको थियो ।