धरान : प्रदेश १ सरकारले पीसीआर टेस्टमा असहयोग गरेपछि विराटनगर महानगरपालिकाले आफै मेसिन किन्ने तयारी थालेको छ । प्रदेश १ सरकार मातहत रहेका कोभिड-१९ प्रयोगशालाबाट रिपोर्ट ढिला आएर सास्ती बेहोर्नु परेको भन्दै महानगरपालिकाले आफ्नै टेस्ट मेसिन खरिद गर्न लागेको हो ।

केही दिन अगाडी फेसबुक मार्फत असन्तुष्टि व्यक्त गर्दै मेयर भीम प्रसाद पराजुलीले "पीसीआर चाँडो गराइदिनु पर्‍यो भनेर क-कसलाई चाकरी गर्नुपर्ने हो ? हरेक कुरामा असहयोग, यो त अति भयो ।," भन्दै लेखेका थिए । प्रदेश सरकारले असहयोग गरेको भनेपछि नगरवासीको माग अनुसार नै मेसिन किन्न लागिएको उनले बताए ।

लामो समय सम्म पनि रिपोर्ट नआएपछि स्थानीयमा त्रास बढेको भन्दै महानगरले आफै मेसिन किनेर परीक्षण गर्ने तयारी थालेको हो । कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिँदै गएपछि स्थानीयहरू त्रसित बनेका हुन् ।

कोरोना जाँच गराउनेको रिपोर्ट ढिलो आएपछि कनट्र्याक्ट टेसीङ्गमा समेत समस्या भएको मेयर पराजुलीको भनाइ छ । कोसी अस्पतालको प्रयोगशालाको सहयोगमा दैनिक ५ सयको परीक्षणको दायरा बढाउने लक्ष्य रहेको उनले बताए ।

लामो समय देखी लकडाउन गरिरहँदा जनतालाई सास्ती भएको र चाँडो परीक्षण गरी सङ्क्रमित पहिचान गरी लकडाउन खुकुलो पार्ने तयारी रहेको उनको भनाइ छ । हाल विराटनगर महानगरपालिकाले सङ्कलन गरेको स्वाब नमुनाको परीक्षण प्रदेश जनस्वास्थ्य प्रयोगशालामा हुँदै आएको छ ।