धरान : धरानमा पछिल्लो समय समुदायमा कोरोना सङ्क्रमण फैलिएको भन्दै लकडाउन जारी गरिएको छ ।

यो लकडाउनमा कोही पनि हिँडडुल गर्न नपाइने र सवारी साधन समेत चलाउन नपाइने भनिएको छ । तर धरानको पूर्व र पश्चिम भई बग्ने सर्दु र सेउती खोलामा भने आजभोलि अलिकति पनि सामाजिक दुरी कायम नगरी एउटै खाल्डोमा पौडी खेल्नेहरूको भीड बढेको छ । यसरी ठुलो भिड पौडी खेल्न खोलामा पुग्दा कोरोनाको सङ्क्रमण जोखिम पनि ह्वात्तै बढेको छ ।

धरानमा रहेका विभिन्न जिमहलहरु समेत पछिल्लो समय कोरोनाको हटस्पट बनी रहेको बेलामा खोलामा सामूहिक पौडी खेल्नेहरूमा पनि कोरोना सङ्क्रमण देखिन सक्ने भएकोले यसबारेमा सम्बन्धित निकायले उच्च सतर्कता अपनाउँदै खोलामा सामूहिक पौडी खेल्न रोक्नुपर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् ।

धरान-१४ स्थित बमधारामार्ग रहेको उत्तर तर्फ हुँदै बग्ने सेउती खोला र पश्चिम तर्फ हुँदै बग्ने सर्दु खोलामा पौडी खेल्नेको सङ्ख्या दर्जनौँ छ । जसमा अधिकांश युवायुवती रहेका छन भने लकडाउन र गर्मीले गर्दा बूढाबूढीहरू समेत पौडिन खोला पुग्ने गरेका छन् ।

सेउती खोलामा पौडी खेल्न पुगेकी सबिता सुवेदीले भनिन “पौडी खेल्न मन परेर पौडी खेल्न म पनि खोलामा आइपुगेकी हुँ ।” लकडाउन छ काम छैन त्यसैले फुर्सदको समयको सदुपयोग गर्न खोलामा पौडी खेल्न आएको उनले बताइन् । पौडी खेलिरहेका सुमन ढकालले भने गर्मी बढेपछि गर्मी छल्न आएको बताए ।

धरान-१४ को सेउती खोला , धरान १३ , १६,१७ र ११ वडालाई समेत छुने सर्दु खोला, धरान-६ को सेहरा खोलामा पौडी खेल्न भेला भएका जमातलाई नगर प्रहरीको गस्ती टोलीले समेत फेला पारी लकडाउनमा पौडी खेल्न नआउन आग्रह गरेको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।

यस विषयमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले लकडाउनले गर्दा भएको जनशक्ति नाका-नाका रहेकाले पौडी खेल्नेहरूमा ध्यान नगएको र पानी परेको समयमा पनि बालबालिका खोला जाने गरेको जानकारी आएमा टोली परिचालन गर्ने बताए ।

धरानको मुख्य बजारहरूमा सुरक्षाकर्मी परिचालन गरी लकडाउनलाई कडाइ गरिए पनि धरान आसपासका क्षेत्रहरूमा घुम्न जाने र खोलामा पौडी खेल्न जानेहरुको निकै ठुलो समूह पाइने भएकोले यस्तो क्रियाकलापमा पनि सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिन्छ ।

लकडाउनको बेलामा धरान आसपासका डाडापाखामा हाइकिङको नाममा थुप्रै समूह हिडीरहेको पाइन्छ । यसले पनि समुदायमा झन् अर्को सङ्क्रमणको जोखिम निम्त्यिाईरहेको छ । त्यसैले यी यस्ता कुरामा सम्बन्धित निकाय धरान उपमहानगरपालिका, वडाका जनप्रतिनिधि र सुरक्षाकर्मीको ध्यान जान अत्यन्तै जरुरी भएको छ ।