धरान : धरानमा अहिले साँझ २३ महिनाको बच्चा सहित ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान १८ बुद्ध चौकको एक होटलका सञ्चालक ३२ वर्षीय दिदी र ३० वर्षीय बहिनी सहित २३ महिनाको छोरीमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

सो होटलमा वीपी प्रतिष्ठानमा उपचार गर्न आएका उदयपुरका एक दम्पती साउन २१ गतेदेखि उक्त होटल बसेका थिए । आन्द्राको अप्रेसन गर्नुअघि पिसिआर परीक्षण गर्दा बिरामी श्रीमतीको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि होटल सिल गरिएको थियो भने सङ्क्रमितको श्रीमान्, होटल सञ्चालक परिवारसँगै होटलको माथिल्लो र तल्लो घरका एक एक जनाको स्वाब लिइएको थियो । होटल सञ्चालिका(बहिनी)को श्रीमानको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । उक्त होटलको माथिल्लो र तल्लो घरका व्यक्तिहरूको पनि रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमित बिरामी महिलाको श्रीमानलाई पनि सङ्क्रमण पुष्टि भएर वीपीको कोभिड अस्पतालमा लगिएको छ । आज थप होटल सञ्चालिकाद्धय र एक बच्चीमा रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमित होटल सञ्चालक दिदी बहिनी र बच्चीलाई आजै अस्पताल भर्ना गर्ने की के गर्ने ? भन्ने बारेमा छलफल भइरहेको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।