धरान : डा. गोविन्द केसीले भदौ ११ गतेदेखि सत्याग्रह थाल्ने भएका छन्।

साउन ११ गते तीन बुँदे मागसहित सरकारलाई तीन साताको अल्टिमेटम दिएका डा. केसीले थप १० दिन सत्याग्रह स्थगन गरेका हुन्। त्यस अवधिभित्र पनि माग सुनुवाइ नभए भदौ ११ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा उनले गरे।

यसबीचमा गाउँमा स्वास्थ्य सेवा दिन जाने उनले बताए। सत्याग्रह कहाँ बस्ने भन्नेबारे उनले खुलाउन चाहेनन्।

कर्णालीका दुर्गम बस्तीमा स्वास्थ्य शिविर चलाउँदै जुम्ला पुगेका डा. केसीले पत्रकार सम्मेलनको आयोजना गरेर सरकार कर्णालीको स्वास्थ्य सेवाप्रति जिम्मेवार बन्न नसकेको आरोप लगाए।

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएसलगायत कार्यक्रम सञ्चालन गर्न माग गरेका हुन्। उनले कर्णाली प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज रूपमा रोकिराखेको आरोप लगाए