धरान : नेपाल विद्यार्थी संघले सुनसरी जिल्लाका सम्पूर्ण आंगिक तथा सामुदायिक क्याम्पसहरुमा  तालाबन्दी गरेको छ।

नेवि संघ केन्द्रीय समितिको परिपत्र अनुसार काठमाडौं र बिरगंजमा जबर्जस्ती धरपकड गरिएका विद्यार्थी नेताहरु बिनासर्त तत्काल रिहाईको माग गर्दै देशभरिको क्याम्पस तालाबन्दी गर्ने केन्द्रीय समितिको निर्णय बमोजिम जिल्ला भरिका क्याम्पसहरुमा आज तालाबन्दी गरिएको हो ।

महेन्द्र बहुमुखी क्याम्पस धरानमा नेविसंघ इकाई सभापति विवेक लिम्बु सहितका नेता कार्यकर्ताहरुले क्याम्पसमा तालाबन्दी गरेका थिए । त्यसै गरि पिण्डेश्वर विद्यापीठमा त्यहाका इकाई सभापति सरोज अधिकारीको नेतृत्वमा गएको टोलिले तालाबन्दी गरेको थियो ।

तत्काल नेवि संघको नेता कार्यकर्ता रिहाई नगरे अझ सशक्त आन्दोलनको कार्यक्रम गर्ने पनि घोषणा समेत नेपाल विद्यार्थी संघले जनाएको छ।
उक्त तालाबन्दी जनता क्याम्पस इटहरीमा सहदेव काफ्लेको नेतृत्वमा त्यसैगरि केन्द्रीय प्रविधि क्याम्पस धरानमा कृष्ण बढुको नेतृत्वमा गरिएको संघले जनाएको छ ।

नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुले गएको ३० गते आफ्ना मागहरु प्रस्तुत गर्न उपकुलपति कार्यालय जादै गर्दा उपकुलपतिको आदेशमा नेविसंघ नेताहरु सम्झना खत्री सहित ८ जनालाई पक्राउ गरेको थियो ।

सुनसरी जिल्लामा भाद्र २ गते ९ बजे १० जना सामाजिक दुरी कायम गर्दै भेला भएर आफ्ना नेता तथा कार्यकर्ता रिहाइको माग गर्ने नेविसंघ जिल्ला सभापति मन्दिप भट्टराईले जानकारी दिएका छन ।