पथरी  : उर्लाबारी मोरङकी रामकला भण्डारीले आइतबार दिनभर पथरी बजारका एग्रोभेट चाहरिन । धान पोटाउने वेलामा युरिया लगाउन पाइने आशाले युरिया खरिद गर्न आएकी भण्डारीले बालिकालागि चाहीने युरिया त परै जावस १ केजी पनि युरिया पाउन सकिनन् ।

‘धानमा लगाउने युरिया पाउन सकिन अव धान उत्पादन घटने पक्का भयो’ भण्डारीले भनिन् ‘किसानको समस्या त बुझिदिनु नि सरकारले’ । भण्डारी मात्र नभई पथरीशनिश्चरे र उर्लाबारीका किसानलाई बजारमा युरियाको अभाव हुँदा समस्या भएको छ ।

समयमा युरियाको आपूर्ति नहुँदा यस वर्ष पनि किसानलाई आवश्यक परेको समयमा युरियाको अभाव भएको छ । पथरीशनिश्चरे र उर्लाबारीका किसानले समयमा धानमा रासायनिक मल लगाउन नपाएको गुनासो गरेका छन् ।

युरिया मल अहिले बजारमा अभाव छ । पथरी र उर्लाबारीका कृषि सहकारी र एग्रोभेटले बिक्री गर्दै आएको युरिया अभावमै बिक्री बन्द भएको छ । एक एग्रोभेट सञ्चालकका अनुसार किसानको माग अनुसार युरिया आपूर्ति नभएकै कारण युरिया र डिएपी लगायतका रासायनिक मलको बर्सेनि अभाव हुने गरेको छ ।

रासायनिक मलको आपूर्ति गर्दै आएको कृषि सामाग्री संस्थान र साल्ट ट्रेडिङ्गले समेत किसानको माग अनुरूप मल वितरण गर्न सकेका छैनन् । मौजुदामा युरिया मल नभएको भन्दै वितरण गर्न सकिएको छैन । अघिल्ला वर्ष नेपालका बजारमा युरिया अभाव भए नजिकका भारतीय बजारवाट पनि यहाँका किसानले युरिया खरिद गर्दै आएका थिए । यस वर्ष कोरोनाको कारण भारतीय नाका बन्द गरिएको छ ।

नेपालमा अनुदानको युरिया मल बजारमा आइपुग्न अझै एक महिना लाग्ने कृषि सामाग्री संस्थानले बताउँदै आएको छ ।

किसानका अनुसार समयमा मल नपाउँदा फसलको उत्पादन कम हुने त्रास हुन्छ । कोरोना डर एकातिर छ भने वालीको फसल उत्पादनमा कमी आए भोकमरी वढने सन्त्रास छ ।

प्रदेश नम्बर एक र मोरङ जिल्लामा मात्र कति मल आवश्यक पर्छ भन्ने याकीन तथ्याङ्क नराखिँदा बर्सेनि यहाँका किसानले मलको अभाव भोग्दै आएका छन् ।

युरिया मलको प्रयोग गर्न सके धान उत्पादन बढ्ने यहाँका किसानले अपेक्षा राखेका छन् । तर बर्सेनि युरिया,डिएपी लगायतका मलको अभाव भोग्दै आएका किसानलाई सहज साथ मल वितरण गर्न सके खाद्यान्नमा भोग्दै आएको परनिर्भरता घटाउन सकिन्थ्यो कि । बर्सेनि भारत र तेस्रो देश वाट धानको आयात वडदै गएको छ ।