धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना उपचारमा आएका र एक जना नर्समा कोरोना सङ्क्रमण भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाईनो वार्डमा उपचारका लागि आएका धनुषाका दुई जना २९ र ३५ वर्षीय महिलामा कोरोना सङ्क्रमण देखिएको हो । यसै गरी बच्चा वार्डमा कार्यरत एक जना नर्समा पनि कोरोना सङ्क्रमण देखिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार गाईनो वार्डमा उपचाररत दुई बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि अहिले गाईनो वार्डमा सेनिटाईज गरिएर पुनः सेवा सुचारु गर्ने तयारी भइरहेको छ । कोरोना संक्रमित नर्सको भने एमआइसियुमा कार्यरत कोरोना सङ्क्रमितहरूको कनट्र्याक्ट ट्रेसिङको क्रममा कोरोना देखिएको हो ।

कोरोना संक्रमित दुई महिला मध्ये एक जना गर्भवती भएको र स्वास फेर्न समस्या भएको थियो । अर्कोको पाठेघरको अप्रेसनका लागि उपचार गर्न भर्ना भएका थिए । कोरोना संक्रमित तीनै जनालाई कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिसकिएको प्रवक्ता डा. सापकोटाले बताए ।