धरान: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका -७ मा साउन ३१ गते २२ वर्षीय गुणराज यादवको शव ५० केजीको ढुङ्गा हालिएको बोराभित्र भेटिएको थियो। मृतक युवकले गाउँका धेरै युवतीसँग प्रेम सम्बन्ध राखेपछि ५ जनाको मिलेमतोमा हत्या गरी शव व्यवस्थापन गर्ने क्रममा ढुङ्गा हालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सुनसरी खोलामा भएको हत्याको प्रहरीले निष्कर्ष निकालेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख कमल थापाले जानकारी दिए। यादवले प्रेम सम्बन्ध बनाएका युवतीमध्ये हत्या आरोपीका कोही छोरी, कोही प्रेमिका, कोही बहिनी रहेका छन् ।

प्रहरीले हत्यामा संलग्न र शव व्यवस्थापनमा संलन रहेका दिनेश महतो, पप्पु राम, दीपक यादव, प्रदीप राम र शिवकुमार मेहतालाई पक्राउ गरेको छ। साउन ३० गते स्थानीय किसानले आफ्नो धान बारीमा रगत देखेपछि प्रहरीलाई खबर गरेका थिए।

उनीहरूले गुणराजको संवेदनशील अङ्गमा पालैपालो कुटपिट गरेको, लात्तले बारम्बार हानेको,नजिकै रहेको गोरु गाडामा लगाएको बाँस ल्याई मृतकको टाउकोमा प्रहार गरेको र बाँस प्रहार पछि घाँटी कसी हत्या गरेको अनुसन्धानमा खुलेको इन्स्पेक्टर सरोज खनालले कपुरीलाई जानकारी दिए ।

त्यसपछि शवको व्यवस्थापन गर्न हात र खुट्टा बाँधि बोरामा हालिएको र खोलामा नदेखियोस् भनेर बोरामा ५० केजीको ढुङ्गा पनि राखिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

मृतक गुणराज साउन २९ गतेदेखि बेपत्ता थिए। मोबाइल पसलमा काम छ भन्दै त्यस दिन दिउँसो २ बजे साथी शिवकुमार मेहतासँग उनी इनरुवा बजार जान्छु भन्दै हिँडेका थिए।

प्रहरीका अनुसार स्थानीय पारिजात स्कुल नजिकै यादवलाई रक्सी सेवन गराइ मताएका थिए । त्यसपछि गुणराजलाई शिवले इन्द्र जित यादवको घर पुर्‍याएर फर्किएका थिए। इन्द्र जितको घरमा केही समय बसेर घर जान्छु भन्दै हिँडेका गुणराज बेपत्ता भएका मृतकका परिवारले बताएका छन् ।