धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अहिले साँझ थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

आज बिहान २ बजे जटिल अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा ल्याइएका मोरङको बुढीगंगा २ निवासी ६५ बर्षीया बृद्धा महिलाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

साउन २५ गते उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई विराट मेडिकलमा उपचारको लागि लगिएको थियो । उनलाई ज्वरो, खोकी र श्वास फेर्न गाह्रो हुने समस्या देखिएको थियो । साउन २७ गते कोसी अस्पतालमा भर्ना गरी पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएको थियो । उनको स्वास्थ्यमा सुधार नआएपछि पुनः विराट मेडिकलमा लगेर उपचार गर्नेक्रममा गए राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो ।

गम्भीर अवस्थामा आइपुगेको बिरामीमा कोरोना आशङ्का गरी स्वाब लिएर परीक्षण गर्दा उनको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । उनी मुटुको रोगी पनि रहेको बताईएको छ । उनको उपचारकै क्रममा मृत्यु भएकोले मृतकको शव व्यवस्थापनका लागि अहिले तयारी भइरहेको जनाइएको छ । यो सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ ।