धरान : धरानमै पहिलो पटक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धरानकै एक कोरोना संक्रमित बृद्ध महिलाको मृत्यु भएको छ ।

मृत्यु हुने धरान-१५ की ७१ बर्षीया महिला रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताएका छन् । उनको आज बिहान सवा ११ बजे मृत्यु भएको बताइएको छ ।

साउन २० गते एन्फा क्वारेनटिनमा स्वाब लिएर परीक्षण गर्दा साउन २३ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई अत्यन्तै खोकी लाग्ने, श्वास फेर्न समस्या र ज्वरो आएको थियो ।

उनलाई विगतदेखि नै दम र मुटुको पनि समस्या भएर उपचार भइरहेको थियो । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई साउन २४ गते प्रतिष्ठान भर्ना गरिएको थियो ।

मृतकको शवको व्यवस्थापनको तयारी भइरहेको धरान उपमहानगरपालिकाले जनाएको छ । मृतक धरान-१५ दशरथ पथकी हुन् । मृतकको छोरी र नाति पनि कोरोना संक्रमित भएर प्रतिष्ठानमा उपचाररत रहेका छन् । मृतक धरान उपमहानगरपालिकाका वातावरण शाखामा कार्यरत कर्मचारीकी आमा हुन् ।