धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्यकर्मीहरू कोरोना सङ्क्रमणको दोहोरो जोखिममा छन् ।

प्रतिष्ठान भित्र मात्रै अहिले सम्म १८ जनामा कोरोना सङ्क्रमण भएको छ । कोरोना संक्रमित हुनेहरू डाक्टर, डाक्टरका परिवार, नर्स, हेल्पर, विद्यार्थी रहेका छन् । प्रतिष्ठान भित्र यसरी कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नुको कारण पहिलो प्रतिष्ठान भित्रका डाक्टरहरू धरान बाहिर जानु र धरान बाहिरबाट विद्यार्थीहरू प्रतिष्ठानमा पढ्न आउनु पनि एक हो भने अर्को प्रतिष्ठानका उपचारका लागि आउने बिरामीबाट प्रतिष्ठानका स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भइरहेका छन् । यसले गर्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत स्वास्थ्यकर्मी, हेल्परहरु कोरोना सङ्क्रमणको दोहोरो जोखिममा रहेका छन् ।

बीपीमा अहिले सम्म ४ जना डाक्टरको परिवार, गाईनो वार्ड र एमआईसियु र पेडियाट्रिक वार्डमा कार्यरत ७ जना नर्स, १ जना इन्ट्रर्न डाक्टर, एक जना भारतबाट प्रतिष्ठानमा एमविविएसको परीक्षा दिन आएका छात्रा, एमएसी पढ्ने २ जना विद्यार्थी र पेडियाट्रीक वार्डमा कार्यरत गरी १८ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१८ जना कोरोना संक्रमित मध्ये एमबिबिएस परीक्षा दिन आएकी भारतीय छात्रा भने कोरोना मुक्त भएकी छिन् । बाकी आइसोलेसन र होम आइसोलेसनमै रहेको बताइएको छ । कोरोना संक्रमित एक जना डाक्टर आफ्नो घर जनकपुर गएर फर्किए पछि उनमा कोरोना सङ्क्रमण देखिएको थियो भने नर्सहरूमा गाईनो वार्डमा उपचारका लागि आएको बिरामीबाट कोरोना सङ्क्रमण भएको कोभिड १९ र्‍यापिड रेस्पोन्स टिमका सदस्य डा. विजय खनालले बताए ।

यसै गरी बीपीमा काम गर्ने नर्सहरू आफूहरू असुरक्षित भएको भन्दै आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागमा कार्यरत नर्सहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले शङ्कास्पद बिरामीलाई पनि वार्डमा भर्ना गरिएको र पोजेटिभ रिपोर्ट आएपछि नर्सहरूलाई क्वारेनटिनमा बस्ने व्यवस्था नगरेको भन्दै आक्रोश पोखेका छन् ।

फ्रन्ट लाइनमा खट्ने सुरक्षाकर्मीहरू अहिले जोखिममा छन् । प्रतिष्ठानमा आउने बिरामी र बीपी बाहिर जाने चिकित्सकको कारण कोरोना सङ्क्रमणको दोहोरो जोखिम बढेको हो । बीपीमा पछिल्लो समय आफूहरूको स्वास्थ्य सुरक्षा नभएको भन्दै आन्दोलन गर्नुपरेको उनीहरूले बताएका छन् ।