पथरी : विराटनगरमा स्वाब सङ्कलन गरेर घर आएका एक सशस्त्र प्रहरीलाई कोरोना पोजेटिभ भेटिएपछि उर्लाबारी-२ सुनझोडाका १२ जनालाई क्वारेनटाइनमा राखिएको छ ।

आइतबार २५ वर्षीय ती युवाले विराटनगर ठेगाना राखेर स्वाब दिएका थिए । उर्लाबारी-२ सुनझोडा घर भएका उनी घरको ढलानकालागी सोमवार घर आएका थिए । घर ढलानमा सहभागी भएको र उनको सम्पर्कमा रहेकालाई आज उर्लाबारी क्वारेनटाइनमा राखिएको उर्लाबारीका स्वास्थ्य सह-संयोजक सुरेश खड्काले जानकारी दिए । सङ्क्रमितलाई गोठगाँउ कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ ।

संक्रमित युवाको प्रत्यक्ष सम्पर्कमा रहेका उनका परिवार र साथीहरूलाई क्वारेनटाइनमा राखिएको हो । वडाध्यक्ष कुमार कँडेल सहितको टोलीले उनीहरूलाई क्वारेनटाइनमा पठाइएको छ भने सो क्षेत्रमा निगरानी बढाइएको छ । सो क्षेत्रका स्थानीयवासीले सर्तक रहन माइकिङ समेत गरिएको सह-संयोजक खड्काले जानकारी दिए ।