पथरी : मोरङको उत्तरी क्षेत्रमा असारको मध्यबाट पशुमा देखिएको ‘लम्पी स्किन’ रोग अझै नियन्त्रणमा आउन सकेको छैन ।

‘लम्पी स्किन’रोगको नियन्त्रणकालागी सरकारी तवरबाट कुनै कार्य नभएको मोरङका किसानले बताएका छन् । सो रोगले विशेष यस क्षेत्रमा पालिएका गाई प्रभावित भए पनि रोग नियन्त्रणकालागी सरकारी तवरबाट कुनै प्रक्रिया नै सुरु नगरिएकोले किसानको लगानी डुब्ने खतरा बढेको छ ।

रोग प्रभावित वनेका पथरीशनिश्चरे,लेटाङ कानेपोखरीका किसानहरूले व्यक्तिगत रूपमा गाईको उपचार गराए पनि रोग नियन्त्रणमा आउन नसक्दा किसानमा थप चिन्ता थपिएको छ ।

स्थानीय पशु स्वास्थ्य प्राविधिकहरूले रोग फैलिन नदिन एन्टीवायोटिक्स र अन्य छालाका रोगमा प्रयोग गरिने औषधी प्रयोग गरे पनि सो रोग नियन्त्रणमा आउन सकेको छैन ।

Cow-Pathari-2-

लेटाङका किसान प्रेम दाहालका अनुसार अझ अवस्था भयावह हुन लागेको छ । सो रोगको सङ्क्रमण भएका गाईमा छाला झर्ने सम्मका समस्या देखिएका छन् । अन्य निरोगी पशु समेत बिरामी पर्दै गएका छन् ।

रोग फैलिएको जानकारी गराए पनि सरकारी तवरका भेटेरिनरी अस्पतालबाट रोग नियन्त्रणकालागी खोप लगाउने र रोगको सङ्क्रमण रोक्नकालागी अन्य कार्य नभएको किसानहरूको भनाइ रहेको छ ।

एउटा पशु उपचारमै ३ देखी ४ हजार रुपैयाँ रकम खर्चिनु परिरहेको किसानहरूको भनाइ छ । रोग नियन्त्रणमा नआउँदा किसानमा थप समस्या भएको छ ।

पशुको शरीरमा फोका आउने,ज्वरो आउने, फोका फुट्ने,फुटेको भाग वाट पानी बग्ने,खुट्टा सुन्निने र पशु वस्तुको दूध उत्पादन घटने लक्षण देखिने गरेको छ । रोगबाट सङ्क्रमित पशुमा वाझोपनाको समस्या देखिने पशु चिकित्सकहरू बताउछन ।

प्रदेश नम्बर १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत पशुपति ढुङ्गानाका अनुसार प्रदेश नम्बर १ का झापा,मोरङ र सुनसरीका पशुमा लम्पी स्किन रोगको प्रकोप भए पनि यसका नियन्त्रणकालागी भेटेरिनरी अस्पतालले प्रयास थालेका छन् ।

रोग फैलाउने झिँगा,मच्छड लगायत नियन्त्रण गर्न औषधी छर्ने काम समेत भइरहेको ढुङ्गानाको दाबी छ । उनका अनुसार भने रोग विषाणुवाट सर्ने भएकाले केन्द्रीय पशु रोग अन्वेषण केन्द्रमा यो कुन प्रजाति र उपजातिको विषाणु हो भन्ने परीक्षण भइरहेकाले तत्काल खोप लगाउने कार्य सम्भव नभएको हो ।

खोपका लागी केही ढिलाइ भए पनि पशुमा सङ्क्रमण नफैलिन कृषि मन्त्रालयले पहल थालिरहेको ढुङ्गानाको भनाइ रहेको छ । ढुङ्गानाले भने ‘पहिला त नेपालमा फैलिएको लम्पीको उपजात बारे पत्ता लागेपछि मात्र खोप व्यवस्थापन गर्न सकिन्छ’ उनले भने ‘ सङ्क्रमितलाई खोप लगाउनु प्रभावकारी छैन ’ । नेपालमा लम्पी स्किन रोगको खोप उत्पादन नभएकाले पनि विदेशको भर पर्नु पर्नेछ ।

झापा मोरङ र सुनसरीका धेरै पशुमा यसको सङ्क्रमण अझ बढ्ने पशु चिकित्सक हरू बत्ताउँछन् । बर्खा याममा चरनका लागी पशु बाहिर नछोडिने भए पनि यस पछि पशु वस्तु चरनका लागी जङ्गल वा अन्य क्षेत्रमा छोडिने र सङ्क्रमितको प्रत्यक्ष सम्पर्कवाट रोग फैलने पशु चिकित्सक बताउछन ।

यो रोग झापा मोरङ सुनसरी र अन्य जिल्लामा देखिएको छ । रोगको सङ्क्रमण देखिएको १ महिना पछि मात्र पशु रोग अन्वेषण कार्यालयले लम्पी रोग भएको पुष्टि गरेको थियो । कार्यालयले लम्पी फैलिएको पुष्टि गर्दा धेरै पशु यो रोग वाट प्रभावित बनिसकेका थिए । रोगको सङ्क्रमण वाट पशु क्षति कम गर्न किसानले रोग नियन्त्रणकालागी खोप लगाउन माग गरेका हुन् ।

अफ्रिकावाट फैलिएको यो रोग २०१९ को मध्य तिर भारत र बङ्गलादेशमा देखिएको थियो भने नेपालमा असारको मध्य वाट देखिएको थियो । यो रोग मोरङमा पालिएका गाईमा पहिलो पटक देखिएको हो । रोग नियन्त्रण गर्न भारत तथा अन्य देशमा यो रोग विरुद्धको खोप दिँदै आइरहेको छ ।