धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्गलवार मृत्यु भएका सप्तरी राजविराजका एक युवामा हिजो साँझ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आयपछि २८ वर्षीय ती युवकलाई थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । धरान ल्याइपुराउने बित्तिकै उनको मृत्यु भएको थियो । मृत्यु भएका उनको स्वाब परीक्षण गर्दा हिजो साँझ कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् । उनको अन्त्येष्टि भने स्वाब सङ्कलन गरेपछि मङ्गलवार परिवारलेनै गरेको छ ।

राजविराजमा लिइएको मृतकको पिसिआर रिपोर्ट पोजेटिभ नआएकोले आर्मीले दाहसंस्कार गरेन । त्यसैले उनलाई उपचारका लागि बीपीमा ल्याएकाहरुलेनै अन्त्येष्टि गरेको प्रमुख यादवले बताए । उनीसँग क्लोज कनट्र्याक्टमा रहेका र उनलाई छोएकाहरूलाई होम क्वारेनटाइनमा राखिएको र आज उनीहरूको स्वाब सङ्कलन गरिँदै छ ।

यो सँगै सप्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ । सबै भन्दा पहिले राजविराज नगरपालिका ६ का एक जना ७२ वर्षीय वृद्धको मृत्यु भएको थियो । त्यस पछि रुपनी ५ का ४५ वर्षीय १ जना पुरुषको मृत्यु भएको थियो । त्यसै गरी राजविराज ६ कै ८२ वर्षीय एक वृद्ध पुरुष र पछिल्लो समय राजविराज ४ का २८ वर्षीय पुरुष सँगै सप्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको सङ्ख्या ४ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । सप्तरीमा अहिले सम्म कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय २ पुगेको छ ।