धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना नर्स सहित प्रतिष्ठान भित्रै रहेका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बीपीको गाईनो वार्डको इमरजेन्सीमा कार्यरत २९ बर्षीया नर्स, १ जना विराटनगरबाट कोरोना आशङ्का गरी ल्याइएको कोभिड अस्पतालमा उपचारत १ जना पुरुष, आफ्नो उपचारका लागि सिराहाबाट आएका १ जना पुरुष र गाइनो वार्डमा यस भन्दा अघि कोरोना संक्रमित बिरामीका कुरुवा २ जना महिला गरी ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

गाईनो वार्डको इमरजेन्सीमा कार्यरत नर्स धरान १५ निवासी हुन् । उनको कनट्र्याक्ट ट्रेसिङबाट स्वाब संकलन गरीएकाे थियाे । उनको बीपीको कोरोना हेल्प डेस्कबाट स्वाब लिइएको र आज उनको रिपोर्ट कोरोना पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

यसै गरी दुई जना बिरामी कुरुवा पनि कनट्र्याक्ट ट्रेसिङकै क्रममा कोरोना संक्रमित भएको पाइएको बताइएको छ ।  कोरोना संक्रमित नर्सको घरका केही परिवारका सदस्यहरूमा सामान्य ज्वरो समेत आईरहेको बताइएको छ ।