धरान : सङ्खुवासभा सदरमुकाम खाँदवारीको हिमालय किरण क्याम्पसमा रहेको आइसोलेसनको स्वास्थ्य सामाग्री चोरी भएको छ ।

अस्पताल प्रशासनका अनुसार आइसोलेसनमा प्रयोगका लागि राखिएका सामाग्री गए राति तोडफोड पछि चोरी भएको हो । करिब १५ लाख बराबरको सामाग्री चोरी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्याम झाले बताए । उनका अनुसार ७० थान पिसपिई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडर लगायतका सामाग्री चोरी भएको छ ।

अहिले आइसोलेसनमा ३ जना कोरोना संक्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताए । तोडफोड पछि नयाँ स्वास्थ्य सामाग्री लगेर ३ जना कोरोना सङ्क्रमितलाई राखिएको उनले बताए । घटनाको थप विवरण आउन बाँकी छ । प्रहरीले चोरी र तोडफोडमा संलग्नको खोजी गरिरहेको जनाएको छ ।