धरान : विराटनगरमा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसेका विराटनगर महानगरपालिका – ६ सरोचियाका का ४५ वर्षिय पुरुषको मृत्यु भएको हो ।


कामत थरका मृतक पुरुषमा कोरोनाको लक्षण देखिएपछि १ भदौंमा स्वाब संकलन गरेर जाँच गर्दा ३ भदौंमा पोजेटिभ रिपोर्ट आएको थियो ।  रिपोर्ट पोजेटिभ आएपनि उनलाई आइसोलेसनमा भर्ना हुन पाएका थिएनन् । घरमै रहेको अवस्थामा गए राति मृत्यु भएको विराटनगर महानगरपालिका– ६ का अध्यक्ष विजय कामतले जानकारी दिए । उनका अनुसार मृतक पुरुषमा उच्चरक्तचाप र मधुमेह रोगको समस्या थियो । ‘ आइसोलेसन बेड अभाव भएका कारण अस्पताल लैजान पाइएको थिएन् । उनले भने ‘ गए राति करिब ८ बजे घरमै मृत्यु भयो ।’

योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । कोरोना संक्रमितको संख्या ७४५ पुगेको छ ।