झापा: झापामा तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा अपराध घटेको पाइएको छ । सामान्य आपराधिक गतिविधि भए पनि त्यस्तो जघन्य अपराधका घटनामा भने कमी आएको छ । यो प्रहरीको सक्रियता र अपराधजन्य मानसिकता भएका व्यक्तिहरूलाई सम्झाई-बुझाई गर्दै त्यस्तो गतिविधिबाट टाढा राख्न भएको प्रयास नै रहेको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाको दाबी छ ।

प्रहरीले समुदायसँग साझेदारी गर्दै विभिन्न समयमा विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाले पनि झापामा अपराधका घटनामा कमी आएको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । आर्थिक वर्ष २०७४/०७५मा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा ३६ वटा घटनासहित जिल्लामा एक हजार ६ सय ८७ वटा मुद्दा दर्ता भए पनि २०७५/०७६ मा एक हजार चार सय ६४ वटा मात्र मुद्दा दर्ता भएका थिए । तर, आर्थिक वर्ष २०७६/०७७मा एक हजार एक सय ७० वटा मात्र मुद्दा दर्ता भएको झापा प्रहरीको तथ्याङ्कले देखाएको छ ।

जसमा कर्तव्य ज्यान १३ र ज्यान मार्ने उद्योगका २७ वटा घटना छन् । पछिल्लो तीन वर्षमा झापामा चार हजार तीन सय २१ वटा घटना घटेका छन् । जसमा तीन आर्थिक वर्षमा नै अभद्र व्यवहारका मुद्दा धेरै छन् । आर्थिक वर्ष २०७४/०७५ मा भन्दा २०७५/०७६ मा कूल मुद्दा दर्ता सङ्ख्या १३ दशमलव २१ प्रतिशतले घटेको छ भने आर्थिक वर्ष २०७६/०७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले मुद्दाको सङ्ख्या नै घटेको छ ।

आर्थिक वर्ष २०७४/०७५ भन्दा आर्थिक वर्ष २०७५/०७६ मा दर्ता भएका मुद्दाहरू मध्ये अभद्र व्यवहारका मुद्दा ४५ प्रतिशत र आर्थिक वर्ष २०७६/२०७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा लागू औषधका मुद्दा समेत ६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आत्महत्या, जबरजस्ती करणी, सवारी ज्यान, मानव बेचबिखन, बहुविवाह लगायतका मुद्दा आर्थिक वर्ष २०७६/०७७ मा कमी आएको छ ।

मुद्दा दर्ताको सङ्ख्यामा कमी आउनुको कारणमध्ये कोभिड-१९ को रोकथाम तथा न्यूनीकरणका लागि भएको लकडाउन, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रम, अपराध नियन्त्रणमा भएको प्रहरी नागरिक सहकार्य, सघन गस्ती, चेकजाँच, मानिसको चेतनाको स्तरमा वृद्धि, प्रहरीको सक्रियता आदि रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।