धरान : कोरोनाको सङ्क्रमण समुदाय स्तरमै बढ्दै जाँदा सबै क्षेत्र तहस नहस भएका छन् । कोरोनाका कारण नेपालीहरूको मौलिक चाडपर्व खुलेर मनाउन नपाउँदा व्यवसायीहरूको समेत व्यवसाय चल्न नसक्दा व्यवसायीक प्रतिष्ठानहरू समेत धराशायी बन्दै गएका छन् ।

धरानमा आधा दर्जन भन्दा ठुला व्यावसायिक प्रतिष्ठान र अधिकांश साना व्यवसायीहरूसमेत कोरोनाको कहरका समस्यामा परेका छन् । यी प्रतिष्ठानमध्ये धरानको अत्यधिक चर्चामा रहने बराह ग्रुपले समेत कोरोनाकै कारण खुलेर आफ्नो २६ औँ वार्षिकोत्सव मनाउन पाएन ।

सहज अवस्था रहेका बेला विगतमा सामाजिक कार्य गर्दै ग्राहक, समाजका प्रतिष्ठित व्यक्ति तथा सञ्चारकर्मीलाई सम्मान लगायतका विविध कार्यक्रमको आयोजना गर्दै आफ्नो वार्षिक उत्सव मनाउँदै आएको बराहले यस वर्ष सरकारको सुरक्षा मापदण्डको पालना गर्दै जोखिम क्षेत्रमा काम गर्नेहरूलाई स्वास्थ्य सामग्री (मास्क, स्यानिटाइजर र ग्लोब्स) वितरण गरेर वार्षिकोत्सव मनाएको छ ।

धरान-५ मा रहेको आफ्नै प्राङ्गणमा मनाएको २६ औँ वार्षिकोत्सवका अवसरमा स्वास्थ्य, सुरक्षा तथा सञ्चार क्षेत्रमा कार्यरतहरूलाई सुरक्षा सामाग्री वितरण गरेको हो । आर्जन गरेको केही रकम सामाजिक क्षेत्रमा समेत खर्चिँदै आएको बराहका काठमाण्डौ, पोखरा, चितवन र धरानका कर्मचारीबाट रकम सङ्कलन गरी विगतमा सङ्घीय सरकारको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ६० प्रतिशत र स्थानीय सरकारको राहत कोष अर्थात् धरान उपमहानगरपालिकाको राहत कोषमा ४० प्रतिशत रकम गरी १९ लाख प्रदान गरिसकेको बराहले आफ्नो २६ औ वार्षिकोत्सवको अवसर पारेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई १ हजार ५ सय २६ पिस मास्क, सोही बराबरको पन्जा र ५ सय २६ पिस स्यानिटाइजर वितरण गरेको हो ।

बराह ग्रुपका धरान प्रमुख मानबहादुर विश्वकर्माले विगतमा सामाजिक कार्य गर्दै समाजका प्रबुद्ध व्यक्तिलाई सम्मानका साथ भव्य वार्षिक उत्सव मनाए पनि यस पटक भने समाजका फ्रन्टलाइनमा काम गर्नेलाई सुरक्षा सामाग्री वितरण गरेर मनाएको बताए ।

यस्तै धरान उपमहानगरपालिका प्रमुख तिलक राईले पछिल्लो समय कोरोना कहरका कारण सबै क्षेत्र प्रभावित बनेको बताए । मेयर राईले पछिल्लो समय कोरोना संक्रमित व्यक्ति तथा उनका परिवारलाई गर्ने समाजको व्यवहारप्रति रोगीलाई समाजको खाँचो भएको बेला सामाजिक बहिष्कार गर्न नहुने बताउँदै अब यस्ता व्यक्तिहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

उनले बराहले आफ्नो व्यवसायसँगै आर्जन गरेको नाफाको केही अंश सामाजिक कार्यक्रममा खर्च गर्ने गरेको बताउँदै यस्तो विषम परिस्थितिमा व्यवसायीक क्षेत्र समेत प्रभावित बनेको बेला यो विषम परिस्थितिमा सबै मिलेर सामना गर्नुबाहेक अर्को विकल्प नरहेको बताए ।

Baraha-2 Baraha-3 Baraha-4 Baraha-5