धरान : गएको साउन ३० गते इटहरीको जनता बहुमुखी क्याम्पसको क्वारेनटिनमा लिइएको १ सय ३६ जनाको स्वाबको नमुना ६ दिन बित्दा पनि रिपोर्ट नआउँदा हल्ली खल्ली भयो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परीक्षणका लागि पठाएको सो परिणामको स्वाब प्रतिष्ठानले परीक्षण गरिदिएन भनेर व्यापक हल्ली खल्ली हुनुको साथै सामाजिक सञ्जालभरि सङ्कलन गरिएको स्वाब हराएको उल्लेख गरियो । इटहरीले स्वाब लिएर पठाएको १३६ वटा स्वाबको नमुना बीपीको ल्याबमा आएर पनि किन परीक्षण भएन त ? भनेर प्रतिष्ठान भित्रै ल्याबका कर्मचारीहरूलाई सोधी खोजी गरियो । ल्याबका कर्मचारीले इटहरीबाट स्वाब नआएको बताए ।

धरान ल्याइएको स्वाब काहा हरायो त ? बीपी भित्र व्यापक खोजी भयो । अन्तिममा इटहरीबाट पठाइएको स्वाबको बक्स बीपीको पहिलेको आइसोलेसन, पेईङ वार्डको एक छेउमा बेवारिसे अवस्थामा देखेको सरसफाइ गर्ने कर्मचारीले बताए ।

इटहरीबाट पठाएको स्वाबको नमुना त्यही पो हो की भनेर पुनः हेर्दा अन्तिममा त्यही नै रहेछ इटहरीबाट पठाइएको स्वाब । बीपीमा ७ दिन पछि इटहरीले पठाएको स्वाबको बक्स भेटियो । तर ल्याबमा होइन पहिलेको कोरोना आइसोलेसन वार्डको एउटा कुनामा बेवारिसे अवस्थामा ।

स्वाबको बक्स किन ल्याब पुगेन त ?

इटहरीको क्वारेनटाइनमा लिइएको १३६ जनाको स्वाब लिएर बीपीमा कोरोना परीक्षणका लागि एम्बुलेन्समा पठाइयो । एम्बुलेन्सका चालकले स्वाबको बक्स प्रतिष्ठानका कर्मचारीलाई कुनै जानकारी नदिई पहिलेको कोरोना आइसोलेसनको एउटा कुनामा बक्स छोडेर फर्किए ।

उनले नत ल्याबमा पुर्‍याए नत बीपीका सम्बन्धित मान्छेलाईनै जानकारी गराए । उनी त्यतिकै फर्किए पछि स्वाबको बक्स त्यतिकै ७ दिन सम्म बेपत्ता रहयो । सात दिन पछि फोहोर व्यवस्थापन गर्ने कर्मचारीले देखेको भनेपछि बल्ल बक्स फेला पर्‍यो ।

तर सङ्कलन गरिएको १३६ नमुना कोरोना परिरक्षण गर्न नहुने अवस्थामा फेला परेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । बाहिरबाट बिरामी र स्वाब पठाउँदा बीपी सँग समन्वयनै नगरी पठाई दिँदा बेला बेलामा यस्तो समस्या आउने गरेको प्रवक्ता डा. सापकोटाले बताए । उनले भने “त्यसैले समन्वय गरेर काम गरौँ ।”

स्वाब सङ्कलन गरेर पठाएको १३६ वटा स्वाब हराउँदा स्वाब दिनेहरूलाई लामो समय आफ्नो रिपोर्ट नआउँदा तनाव हुनुको साथै नगरपालिकालाई पनि घाटा भयो ।

गैर जिम्मेवारी तरिकाले काम गरेका एम्बुलेन्सका चालकलाई कारर्वाही गरेको इटहरी अस्पतालका इमरजेन्सी विभागका प्रमुख रामकुमार धमलाले बताए । लामो समय सम्म स्वाब बेवारिसे अवस्थामा रहेकोले परीक्षणका लागि काम नलाग्ने भए पछि आज फेरी स्वाब सङ्कलन गरिएको उनले बताए । स्वाब र कोरोना संक्रमित अस्पताल लादा अस्पतालको ढोकामा होइन, जिम्मेवारी पूर्वक अस्पताल भर्ना गर्नुका साथै परीक्षणका सामाग्री सम्बन्धित निकायलाई प्रकृयागतरुपमा बुझाएर मात्रै फर्किन प्रमुख धमलाले बताए ।