झापा : झापाको दमक नगरपालिकामा आज १६ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । दमक नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईका अनुसार कन्ट्याक्ट ट्रेसिङका आधारमा लिएको स्वाब परीक्षणको नयाँ रिपोर्ट आएको हो ।

यसमा विद्यूत प्राधिकरणका कार्यरत  कर्मचारी ६ जना रहेका छन् । अन्य २ जना पनि समुदायमा रहेका व्यक्ती रहेको बताइएको छ ।

यसैगरी सशस्त्र प्रहरीहरूमा कोरोना सङ्क्रमण देखिएको भट्टराईले जानकारी दिए । उनीहरू सरुवा भएर विराटनगरबाट यहाँ आएको र त्यही भित्र क्वारेनटाइनमा रहेकाहरू रहेको जनाइएको छ । यो सँगै दमकमा कोरोना सङ्क्रमितको सङ्ख्या ६६ पुगेको छ ।

समुदायमा पनि कोरोना सङ्क्रमितहरू फेला पर्न थालेका छन् । यसैबिच, चौतर्फी दबाबपछि दमकमा गरिएको कडा लकडाउनको आज अन्तिम दिन हो । कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि अब के गर्ने भन्ने विषयमा नगरपालिकामा आज थप छलफल हुने भएको छ ।

आज दिउसो साढे २ बजे बस्ने बैठकले लक डाउनको अवधि बढाउन सक्ने नगरपालिका श्रोतले जनाएको छ । हप्ता दिनको कडा लकडाउनको समीक्षा गरेर आज नगरपालिकाले अर्को निर्णय गर्ने नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिएकी छन् ।