धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप एक जना धरान १५ का कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

आज कोरोना सङ्क्रमणका कारण धरान १५ कृष्ण पथ निवास ६७ वर्षीय वृद्धको आज १२ बजे निधन भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । मृतकको स्वास्थ्य अवस्था गम्भीर भएपछि गए राति प्लाज्मा थेरापी विधिबाट पनि उपचार गरिएको थियो । उनी वीपीमा प्लाज्मा थेरापी गरिने दोस्रो कोरोना संक्रमित हुन् ।

उनलाई एक सातादेखि अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको थियो । साथै मृतकलाई उच्च रक्तचापको बिरामी पनि भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

मृतकको साउन २७ गते पिसिआर पोजेटिभ रिपोर्ट आएको थियो । उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो । यसअघि पनि धरान १५ की कोरोना पोजेटिभ वृद्धाको पनि मृत्यु भएको थियो । मृतकको शव व्यवस्थापनका लागि तयारी भइरहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।