धरान : नेपालमा कोरोना सङ्क्रमणबाट शनिबार मात्रै ९ जनाको मृत्यु भएको छ ।

९ जना मध्ये एक जना सुनसरीको ६ बर्षीया बालिकाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित प्रेस व्रिफिङमा जानकारी दिएका छन् ।

तर सुनसरीकी ६ बर्षीया बालिका कहाँकी हुन् ? भनेर स्वास्थ्य कार्यालय सुनसरीलाई पनि जानकारी नभएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले बताए । उनले भने सुनसरीमा मृत्यु हुने ६ बर्षीय बालिकाको बारेमा जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छैन ।

स्वास्थ्य कार्यालय सुनसरीकी कोभिड-१९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार सुनसरीको बासिन्दा भएर अरू प्रदेशमा मृत्यु भएको र त्यहाँ उसको ठेगाना सुनसरी उल्लेख गरिएकोले मन्त्रालयले यस्तो विवरणको जानकारी दिएको हुन सक्ने उनले बताइन ।

आज सुनसरीमा धरान-१५ निवासी १ जना ६७ वर्षीय पुरुषको मात्रै मृत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीलाई जानकारी रहेको छ । बालिकाको बारेमा भने कुनै जानकारी छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सम्ममा मृत्यु हुनेको सङ्ख्या १ सय ४६ पुगेको छ । मन्त्रालयका अनुसार सुनसरीकी भनिएकी एक जना ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको छ ।