दमक : पहिलो चरणमा आंशिक लकडाउन गरेको दमकले दोस्रो चरणमा तरकारी पसल र खाद्यान्न पसल समेत बन्द गर्ने गरी कडा लकडाउन गरेको थियो । यो अवधिमा पनि कोरोनाको जोखिम कम नभएको र समुदाय स्तरमा पुग्ने क्रम नरोकीएकोले भदौ १३ गते सम्ममा यही शैलीको लकडाउन अवधि थप्ने निर्णय भएको नगर प्रमुख रोमनाथ ओलीले बताए ।

अझै तरकारी र खाद्य पसल नखोल्ने गरिको लकडाउन गरिएको छ । औषधि बाहेक अन्य सबै पसल बन्द गर्ने निर्णय भएको उनले बताए । औषधि पसलमा पनि सङ्क्रमण देखिएकाले औषधि बाहेकका अन्य कुनै पनि कारोबार र सेवा पूर्णरुपमा निषेध गरिएको जनाइएको छ । औषधि ब्यवसयीले अनिवार्य मास्क र पन्जा लगाउने र सामाजिक दुरी कायम गर्ने गरिको पसल अगाडी रेखाङ्कन गर्ने वा कुनै सङ्केत चिन्ह अनिवार्य लगाउनु पर्ने समेत बैठकले निर्णय गरेको छ ।

अन्य कुनै पनि पसल, वित्तीय संस्था तथा , सरकारी कार्यालय एवं सार्वजनिक संस्थानहरू अर्को निर्णय नभए सम्मका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको उप प्रमुख तथा प्रवक्ता गीता अधिकारीले बताइन । साउन ३२ गते बिहान ८ बजे देखी भदौ ६ गते मध्यरात सम्मको लकडाउन अवधि सकिनै लाग्दा लकडाउनको अवधि थपिएको हो ।

कोरोनाको जोखिम र सङ्क्रमण थप नफैलियोस् भन्नका लागि गरिएको यस अघिको लकडाउन अवधिमा झन् धेरे संक्रमित बढेका छन् । थपिएको सङ्क्रमितहरू अधिकांश समुदाय स्तरका हुन । यो अवधिमा मात्र १७ जनामा कोरोनाको सङ्क्रमण देखियो । ती मध्ये ८ जना क्वारेण्टाईनमा बसेका हुन्, भने अन्य ९ जना समुदाय स्तरका हुन् ।

विभिन्न सरकारी कार्यालय, संस्थान, वित्तीय संस्था र घरैमा बसेका बिरामीहरुहरुमा सङ्क्रमण देखिएको दमक क्वारेण्टाईन सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव कुबेर भट्टराईले बताए । एक हप्तामा ४ सय ३२ जनाको स्वाब सङ्कलन गरिएको थियो । जसमध्ये २ सय १३ जनाको रिपोर्ट आएको छ । अन्यको रिपोर्ट आउन बाकी रहेको छ । अहिले पनि दैनिक जसो स्वाब सङ्कलन भई रहेको दमक नगरपालिकाले जनाएको छ ।