झापा : झापाको साबिक पाँचगाछी ४ हाल शिवसतासी नगरपालिका ४ बोलो चोकका कुमार रिजाललाई बिहीबार अपराह्न करिब ४ बजेको समयमा धानखेतमा सर्पले डस्यो । उनलाई उपचारका लागि दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले सञ्चालन गरेको सर्प दंश उपचार केन्द्रमा ल्याइयो । केन्द्रमा करिब ८ घण्टाको उपचारपछि उन स्वास्थ्य लाभ गरेर र घर फर्किए ।

तर रिजाललाई सर्पले डसेपछि उपचारकालागि दमक सम्म ल्याउने क्रममा उनका काका त्रिलोक रिजालले निकै हैरानी बेहोर्नु पर्‍यो ।

रिजालको हैरानीको कारण बन्यो झापाको कमल गाउँपालिकास्थित केर्खा, क्याम्पा, समयगढ हुँदै बैगुनधुरा जोडने सडकमा ठाउँ ठाउँमा लगाइएका ढाट । अहिले झापाको कमल गाउँपालिकामा कोभिड १९ को सङ्क्रमण रोक्ने बहानामा सार्वजनिक सडक तथा गल्लीमा ढाट लगाएर अवरोध खडा गरिएको छ ।

अत्यावश्यक तथा अति जरुरी कामले यात्रा गर्नुपर्दा सर्वसाधारणले निकै सास्ती खेप्नु परिरहेको छ । आफना भतिजलाई सर्पले डसेपछि उपचारकालागि दमक सम्म ल्याउने क्रममा केर्खा समयगढ सडक खण्डको तिन स्थानमा लगाएको ढाँटका कारण बिरामीलाई समयमै उपचार केन्द्र सम्म पुर्‍याउन निकै समस्या भएको रिजालले गुनासो गरे ।

Bambo-Dhat-2--jhapa

भतिजलाई सर्पले डसेपछि तत्काल उपचारकालागि घरबाट मोटर साइकलमा बिरामीलाई राखेर आउने क्रममा सडकमा स्थानीयले ढाँट नै लगाएर सडक अवरुद्ध सडक खुलाउन स्थानीयवासी लाई ठाउँ ठाउँमा आग्रह गर्दै आउनुपर्दा बिरामीको ज्यानै जोखिममा परेको रिजालले गुनासो गरे ।

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि स्वास्थ्य सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने र आवागमनमा बाधा पुर्‍याउने जस्ता कार्यहरू कमल गाउँपालिकाको मुख्य तथा भित्री सडकहरूमा भएको पाइएको छ ।

जस्तो सुकै विषम परिस्थितिमा पनि यस्ता कार्यहरू गर्न वा नगराउन सङ्क्रमण ऐन २०२० को दफा २ ले स्थानीय प्रशासनलाई अधिकार दिएको छ ।

तर स्थानीय प्रशासनले यस्ता विषयमा नियमन नगर्दा अति जरुरीका एम्बुलेन्स, दमकल जस्ता सवारी साधन निर्वाधरुपमा सञ्चालन गर्न निकै कठिन हुने गरेको छ ।

सार्वजनिक महत्त्वमाथिका यस्ता स्थानहरूमा अवरुद्ध गर्ने जो कोहीलाई पनि स्थानीय प्रशासनले नेपाल सङ्क्रमण ऐन २०२० को संशोधन सहितको दफा ३ बमोजिम कारबाही गर्न सक्छ ।